610 views 0 secs 0 comments

‘भोट दियौं अब पति फर्काइदेऊ’

In देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १०:३७

जुम्ला : बिहानै घरको चाँजोपाँजो मिलाएर उनी हतार गर्दै मतदान केन्द्रमा पुगिन् । कात्तिकस्वामी विद्यालयको मतदान केन्द्रमा पुग्दा लाइन लागिसकेको थियो । करिब एक घण्टा लाइनमा कुरेपछि उनको पालो आयो । मतपत्रमा छाप लगाएर बाकसमा खसाल्दै गर्दा उनले भनिन्, ‘घरको सबै काम छोडेर पनि भोट दिएकी छु । अब मेरा पति घर फर्काइदिनुहोला ।’

चन्दननाथ नगरपालिकाको सिलामकी ४६ वर्षिया राधिका कुँवरको यो आग्रहलाई गहिरिएर कसैले सुनेनन् । मतदानस्थलबाट बाहिरिएपछि उनी हतारहतार घरतर्फ जान खोज्दै थिइन् । आर्थिक अवस्था कमजोर भएको र गाउँमै रोजगारी नहुँदा उनका पति भक्त कुँवर कमाउनका लागि भारत गएमा छन् । उनी चाडपर्वको बेला मात्र घर आउँछन् । बाँकी समय परदेशमै बित्छ । राधिकाले भनिन्, ‘मैले धेरैपटक भोट दिएँ । तर, त्यसको बदलामा केही पाइँन । पुरुषले गाउँमा गरिखाने वातावरण नै छैन । यसपालिको चुनाव जित्नेले मेरा श्रीमान्लाई भारतबाट फर्काएर गाउँमै बसाल्न सकुन् ।’

महत गाउँस्थित मतदान केन्द्रमा भोट हाल्न पुगेकी ५२ वर्षिया गोरीकला विकलाई भोट किन हाल्दैछु भन्ने थाहा थिएन । देशको राजनीतिक परिवर्तनसँग खासै जानकार नभएकी उनी मतदान गरेर बाहिरिइन् । ‘अब गाउँमै सरकार आउँछ भन्छन् । नेताले छुट्टै राज्य बनाउने हो भन्थे’ उनले भनिन्, ‘हाम्रा दिन जस्ताका त्यस्तै छन् । घरमै बसे खान पुग्दैन । घरखर्च जुटाउनकै लागि श्रीमान् भारतमा छन्, अब उनलाई गाउँमा कसले फर्काइदिन्छ ? ’

आफुले पटकपटक मतदान गरेको स्मरण गर्दै उनले यसपाली पनि मतदान गरेको बताइन् । उनले भनिन्,‘कालापहाड नगए घरखर्च चल्दैन, जागिर खानलाई पावर पनि छैन । यसअघि जितेकाले त हाम्रा कुरा नै सुनेनन्, अब जित्नेले मेरा श्रीमान्लाई परिवारसँगै बसेर काम गर्ने वातावरण मिलाउनेतर्फ सोचुन् ।’

पहिलो चरण अन्तर्गत आइतबार सम्पन्न मतदानको क्रममा भेटिएका राधिका र गोरीकला कर्णालीका प्रतिनिधि महिला मात्र हुन् । यहाँका अधिकांश महिलाहरूले आइतबारको मतदानमा भाग लिए । हातमा मतपत्र लिँदा उनीहरूसँग कुनै ठूलो विकास र योजनाको अपेक्षा भने थिएन । स्थानीय तहमा रोजगारी नहुनु र घरखर्च टार्नकै लागि पुरुषहरू कालापहाड जानुपर्ने बाध्यताका कारण कर्णालीका जिल्लामा महिलाहरूले नै घरव्यवहार धान्ने गरेका छन्।

मजदुरीका लागि भारत पसेका पुरुषहरू वर्षमा एकपटक चाडवाडको वेलामा घरमा फिर्ता हुने गरेका छन् । जसका कारण अधिकांश जोडी घरमा सँगै बस्न पाउँदैनन् । यसपालीको निर्वाचनमा यहाँका महिलाहरूले आफ्नो मतलाई रोजगारीसँग साँटेको बताए । अब चुनाव जित्नेले गाउँमै रोजगारी सिर्जना गरेमा पुरुषहरू कालापहाड जानु नपर्ने महिलाहरू बताउँछन् । यसकारण पनि उनीहरूले आफुहरूको पहिलो माग रोजगारी नै भएको बताए ।

‘नेताहरूको व्यवहार देख्दा त भोट हाल्न आउने सोच नै थिएन, तर अब सुध्रिन्छन् की भन्ने आश पनि छ’ कनकासुन्दरी-५ की ३१ वर्षिया राज्यलक्ष्मी काफ्लेले भनिन्,‘यसपाली भोट दिएकी छु, हामीलाई धेरै केही चाहिएको छैन । अब गाउँका पुरुषले कालापहाडमा भौंतारिनु नपरोस, नेताहरूले गाउँमै कमाएर खाने बाटो देखाउँन् ।’ उनका श्रीमान्ले मुस्किलले आजसम्म एकपटक मात्र मतदान गर्ने अवसर पाएका छन् ।

घरखर्च जुटाउनका लागि भारतमा मजदुरी गर्दै आएका उनी पनि वर्षमा एकपटक मात्र गाउँ फर्कन्छन् । काफ्लेले थपिन्,‘गाउँमै रोजगारी भएको भए मेरा श्रीमान् किन भारत जान्थे र, आजसँगै भोट हाल्न आउँथ्यौं । नेताहरूका आफ्नै सपना होलान्, हाम्रो पनि परिवारसँगै बसेर जीवन काट्ने सपना छ ।’ रहरहरू मारेर जीवन गुजार्नु परेको भन्दै्र उनले अब भारतमा रहेका सबै पुरुषलाई गाउँमै फर्काइदिन मतदानस्थलबाटै नेताहरूसँग आग्रह गरिन् ।

कर्णालीका जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पाका पुरुषहरू मजदुरीका लागि भारतका विभिन्न शहरमा पस्ने गरेका छन् । यसपाली चाडवाड लगतै अधिकांश पुरुषहरू भारत पसेका छन् । जसका कारण कर्णालीका जिल्लामा आइतबार सम्पन्न निर्वाचनमा पुरुषको तुलनामा महिलाको मत बढी खसेको छ ।

घरको काम छोडेर मत खसाल्न आएका अधिकांश महिलाहरूले अब निर्वाचित हुने सांसद्ले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् । साथै उनीहरूले अब पुरुषलाई गाउँमै काम गरेर परिवारको खर्च टार्ने व्यवस्था ल्याउनका लागि दबाव पुगोस भनेर नै आफुहरूले यसपालीको भोट दिएको सुनाए । पुरुषहरूलाई कालापहाड जाने बाध्यताको अन्त्य भएमा मात्र आफूहरूलाई परिवर्तनको अनुभूति हुने यहाँका महिलाहरू बताउँछन् ।