799 views 2 secs 0 comments

यो जिन्दगी खै के जिन्दगी : हरिभक्त

In बिचार
३० कार्तिक २०७६, शनिबार ११:१८

यो जिन्दगी खै के जिन्दगी !
भित्रभित्रै खोक्रिएर बाहिर-बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भुतले सताएको
यो जिन्दगी खै के जिन्दगी !

बन्दुकका नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ
खुकुरीको धारमा पाइला टेकेर जिउनुपर्छ
आँखा चिम्लन पनि जग्जगी
आँखा उघार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी !

पसलमा सोकेशभित्र सजाइराखेको
काँचको चुराजस्तो यो जिन्दगी
कुनै युक्तीको हातमा चढ्दाचढ्दै –
प्याट्ट फुट्न सक्छ यो जिन्दगी !
रबरका सस्ता चप्पल जस्तै यो जिन्दगी
बाटामा हिँड्दा-हिँड्दै-
च्याट्ट टुट्न सक्छ यो जिन्दगी !
यो जिन्दगी खै के जिन्दगी !!
-हरिभक्त कटुवाल