553 views 0 secs 0 comments

यो पटक पनि तिङ्लाबासीले चुनाव बहिस्कार गरे, अन्य ठाउँमा मतदान उत्साहपूर्ण

In देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार ११:४८

 

सोलुखुम्बु, मंसिर १० – स्थानीय तहको पुन संरचनामा असन्तुष्टि जनाएर मतदान बहिस्कार गरेका सोलुखुम्बुको तिड्ला गाउँका मतदाताले यसपालिको चुनाव पनि बहिस्कार गरेका छन् । अहिलेसम्म यहाँको मतदान केन्द्रका कुनै पनि मतदाता भोट हाल्न गएका छैनन् ।

सोलुखुम्बुका अरु सबै ठाउँमा अहिले शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । ६९ हजार ४ सय ११ जना मतदाता रहेको सोलुखुम्बुमा प्रतिनिधिसभामा ७ दल प्रतिस्पर्धामा छन् । सोलुखुम्बुको प्रदेशसभा (क) मा १ स्वतन्त्र सहित ६ दलका उम्मेदवार छन भने प्रदेशसभा (ख) मा ५ दलले प्रतिस्पर्धा गर्दैछन् । घाम लागेसँगै मतदाता मतदान केन्द्रमा पुग्ने क्रम बढेको निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसकाबाट उम्मेदवार रहेका बलबहादुर केसीले नेचासल्यान गाउँपालिकाको विपि सस्कृत माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ । वाम गठबन्धनका उम्मेदवार हेमकुमार राई (सुरबीर)ले पनि नेचासल्यान गाउँपालिकाकै फुर्के सामुदायिक वन उपभोक्ता समुहको कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार उतम बस्नेतले दुधकौसिका गाउँपालिकाको बाउण्डी आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशसिंह कार्कीले नेचासल्यान गाउँपलिकाको रुगास्थलि आधारभुत विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ ।

प्रदेशसभा (ख) मा कांग्रेसका उम्मेदवार आङ्गेलु शेर्पाले सोलुदुधकुण्ड नगरपालिकाको पिके माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरिसक्नुभएको छ । उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले सोलुदुधकुन्ड नगरपालिकाको दोर्फू आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
तिङलावासी मतदानका लागि गएनन्

स्थानीय तहको पुर्नसंरचनामा असन्तुष्ट रहेका सोलुखुम्बुको तिङ्ला गाउँका बासिन्दाले भने मतदान गरेका छैनन् । उनीहरुले स्थानीय तहको चुनाव पनि बहिस्कार गरेका थिए । आफ्ना माग पूरा नगरेको भन्दै उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभामा पनि मतदान नगर्ने बताउँदै आएका छन् ।