
सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्ड अन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगा खस्दा बस चालक घाइते भएका छन्।
पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ६१८० नं. यात्रुवाहक बसमा दिउँसो सवा १ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै हेडबक्स माथिबाट ढुंगा खसेको हो।
सडकको ५ सय मिटर माथिबाट खसेको उक्त ढुंगा बसमाथि बजारिदा बसका चालक तिलोत्तमा नगरपालिका वडा नं. ४ का ३५ वर्षीय कमल राउत घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले जानकारी दिए।
टाउकोमा ढुंगाले लागेर चालक राउत गम्भीर घाइते भएको र उनको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।