
दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो। सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए।
त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडक खण्ड १२ किलोमिटरमा ग्यास बुलेट, लामा भारी सामान बोकेका गाडी र टिप्परलाई राति नौ बजेपछि मात्र खानीखोलाबाट काठमाडौँ जान दिने योजना बनाइएको छ। उक्त सडकमा एक हजारभन्दा बढी टिप्पर सञ्चालन हुँदै आएका छन्। जाम कम गराउन खानीखोलाबाट दिउँसोको समयमा टिप्परको प्रवेशमा रोक लगाइने भएको छ।
बाटो साँघुरो भएकाले नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ। ट्राफिक प्रहरी परिचालन गरी सडक खुला गरिने प्रजिअ तामाङले बताए। उक्त क्षेत्रमा गत वर्ष मर्मत गरिएको सडक पूरै भत्किएको छ।
साँघुरो सडकलाई तत्काल चौडा बनाउन नसकिए पनि जाममुक्त बनाउन सकिने धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए।