
गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचारका उजुरी पर्ने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो ।
जिल्लाबाट गत आर्थिक वर्षमा ६९ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परेका आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा पनि १२ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परिसकेको छ । भ्रष्टाचारका उजुरीमध्ये ४२ उजुरी फछ्र्यौट भइसकेका छन् भने सात उजुरीमा भ्रष्टाचारजन्य कार्य भएको प्रमाण भेटिएकाले थप अनुसन्धान भइरहेको रिजालले बताए ।
बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की पहिलो र पर्वत दोस्रो स्थानमा छन् । त्यसपछि क्रमशः स्याङ्जा, लमजुङ, बागलुङ, म्याग्दी, गोरखा, मुस्ताङ, नवलपुर छन् । कास्कीमा मात्रै गत वर्ष ४२७ भ्रष्टाचारका उजुरी परेका थिए । प्रदेशभरि कूल ८३२ उजुरी दर्ता भएकामा ५४५ उजुरी फछ्र्यौट भइसकेका आयोगले जनाएको छ ।