616 views 0 secs 0 comments

पर्सामा एकैदिनमा तीन जनाले झुण्डिएर आत्महत्या…

In समाज
२० भाद्र २०७६, शुक्रबार १७:२१

पर्सामा एकैदिनमा तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाका विभिन्न स्थानमा बिहीबार तीन जना महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका–२७ कुहडीकी ४५ बर्षीया रीखिया देवी महतो आफ्नै कच्ची घरको बलोमा कपडाको पासो लगाई झुण्डिएकी थिइन् । उनको झुण्डिएर मृत्यु भइसकेको खबर पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली घटना स्थल पुगेको थियो । महतोको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ ।

बिहीबार नै पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मुजबनियाकी १६ बर्षीया ललिता देवीले झुण्डिएर आत्महत्या गरेकी छन् । सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाइ उनले आत्महत्या गरेकी थिइन् । उनको ६ महिना अघि मात्रै विवाह भएको थियो । पारिवारिक कलहको कारण उनले आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार सासु–ससुरा र पति विहान सात बजे खेतमा गोडमेल गर्न गएको अवस्थामा ललिताले पासो लगाएर आत्महत्या गरेकी थिइन् । ललिताका ससुरा किशोरी मुखिया बिनका अनुसार बुहारीलाई खाना पकाएर ल्याउन भनी उनीहरु खेतमा गएका थिए । १० बजेसम्म बुहारी नआएपछि घर आएर हेर्दा बुहारीले ढोका थुनेर आत्महत्या गरेको पाइएको परिवारलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

त्यसैगरी वीरगञ्ज– १ छप्कैयाकी १९ बर्षीया रुकसार खातुनले पनि बिहिबार झुण्डिएर आत्महत्या गरेकी छन् । आफ्नै घरको सुत्ने कोठाभित्र पंखामा कपडाको पासो लगाइ उनले आत्महत्या गरेकी हुन् । झुण्डिरहेको अवस्थामा आफन्तले देखेपछि पासो फुकाइ उपचारको लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । श्रीमानसँग सामान्य विवाद भएपछि उनले आत्महत्या गरेको हुन सक्ने अनुमान आफन्तले गरेका छन् ।

मृत्यु भइसकेपछि खबर पाएको प्रहरी टोलीले घटनास्थल शव जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान गरेको छ । दुवै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्मा जिल्लामा निरन्तर आत्महत्याका घटना भइरहेकोे बताउँछन् ।

मानिसमा तनाव बढी हुने तर, धैर्यता कम देखिएकोले आत्महत्याको घटना बढेको हुन सक्ने उनको अनुमान छ । ‘के कारणले आत्महत्या गरेका हुन् भन्ने कुरा त पोष्टमार्टम रिपोर्टलगायत अन्य अनुसन्धान पछि खुल्दै जान्छ,’ उनले भने, ‘तर आत्महत्या गर्ने क्रम भने बढ्दो छ ।’