
एउटा इन्जिन फेल भएको सीता एयरको विमान दुर्घटनाबाट बचेको छ । लुक्लाबाट काठमाडौं आएको विमानको आकाशमै एउटा इन्जिन फेल भएको थियो । ९ एन–एजेएच कलसाइन भएको जहाजको बुधबार बिहान लुक्लाबाट उडेको थियो ।
जहाजको एउटा इन्जिन आकाशमै फेल भए पनि पाइलटले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार बुधबार बिहान करीब पौने ९ बजे जहाजले आकस्मिक अवतरण गरेको हो । जहाजमा यात्रु भने थिएनन् । सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले चालक दलका सदस्य र जहाज सुरक्षित रहेको ट्विटमार्फत जानकारी गराएका छन् ।