579 views 0 secs 0 comments

एप्पलले आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने …

In विश्व
१५ भाद्र २०७६, आईतवार ०८:०९

एप्पलले आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । यसका लागि एप्पलले औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ ।
एप्पलले मिडियाहरुलाई पठाएको निमन्त्रणमा भनिएको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स थिएटरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुहोला ।’

उक्त कार्यक्रममा एप्पलले तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । साथै एप्पल वाच फोरसमेत नयाँ संस्करण आउने अनुमान गरिएको छ ।
समाचारअनुसार एप्पलले ल्याउने नयाँ आइफोनहरु आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आरको नयाँ संस्करणको रुपमा हुनेछन् । जसअनुसार नयाँ आइफोनको नाम आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स र आइफोन ११ हुनेछ ।
एप्पलका यी नयाँ आइफोनमध्ये दुईवटामा पछाडिको भागका मुख्य क्यामराहरु तीनवटा हुनेछन् । तर आइफोन एक्स आरको नयाँ संस्करण आइफोनमा चाहिँ डुअल रियर क्यामरा सेटअप नै हुनेछ ।
नयाँ आइफोनमा ए-१३ प्रोसेसर हुने बताइएको छ । साथै नयाँ आइफोनमा समेत ओएलइडी डिस्प्ले रहने बताइएको छ ।