656 views 0 secs 0 comments

आसामस्थित एक काेठीबाट सातजना नेपाली महिलाको उद्धार…

In देश, विश्व
३ मंसिर २०७६, मंगलवार ११:४९

भारतको आसामस्थित एक काेठीबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् ।
मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको हो ।

सिल्चारको सो काेठीमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसाम पुगेको थियो ।
दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरीसहित पुगेर सोमवार साँझ सात जना नेपाली महिलाको उद्धार गरिएको हो । उद्दार गरिएकामध्ये तीन जना २० वर्ष मुनिका रहेको र चार जना बालिकाहरु रहेको शक्ति समूहका तालिम तथा कानुनी परियोजना संयोजक दिलिप कोइरालाले जानकारी दिए ।
गत जुलाइमा एकजना नेपाली किशोरीको सोही ठाउँबाट उद्धार गरिएको थियो । उनकै सूचनाका आधारमा त्यहाँ अरु धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहको सात जनाको टोली आसाम पुगेको थियो ।
ती युवती र किशोरीलाई काेठीसम्म लैजाने र जबरजस्ती यौन धन्दामा लगाउने लक्ष्मी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी कोठी सञ्चालिका हुन् कि दलालमात्र हुन् भन्ने खुलेको छैन ।