
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू साहित्यक पुस्तक पढ्दापढ्दै अर्धपागल भएर विद्रोहमा गएको बताएका छन्।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माको पुस्तक ‘झरीको सौन्दर्य’को लोकार्पण गर्दै प्रचण्डले आफू निकै साहित्यिक मानिस भएको बताए।
‘मेरो साहित्यमा एकदमै रूची थियो। मेट्रिक पास गरेर कलेज पढ्ने बेला महिनौं बाहिर ननिस्की किताब पढ्थें,’ उनले भने,‘आफू पनि कविता लेख्थें। नाचगानमा रूची थियो। लक्ष्मीप्रसाद देवकोटा र ताना शर्माका निबन्धहरू पढेर नेपाली समाजको बारेमा धेरै थाहा पाएँ। साहित्यबाट समाजलाई बुझ्दाबुझ्दै अर्धपागल भएर विद्रोहमा गएँ।’
आफूमा सानैदेखि निकै उदारता, भावुकता र साहित्यिक अनुराग भएको उल्लेख गर्दै प्रचण्डले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा आफू कहिल्यै पनि हिंसामा सामेल नभएको बताए।
‘मेरो नेतृत्वमा त्यत्रो युद्ध भयो, हजारौंको बलिदान भयो। तर म त्यस्तो विद्रोही नेता हुँ जसले कसैलाई एक लपेटो हानेको छैन, कसैको एक लपेटो खाएको पनि छैन,’ प्रचण्डले भने,‘हिंसात्मक क्रियाकलापमा मेरो कहिँ प्रत्यक्ष सहभागिता छैन। मान्छेहरूलाई यो कुरा पत्याउने गाह्रो छ।’
उनले हिंसामा सहभागी नभए पनि द्वन्द्वका क्रममा भएका सबै घटनाको जिम्मेवारी आफूले लिने बताए।
विद्रोहको मात्र होइन उक्त विद्रोहलाई शान्तिपूर्ण र लोकतान्त्रिक प्रणालीमा ल्याउने नेतृत्व पनि आफूले गर्न पाएको उनले बताए।
‘विद्रोहलाई शान्तितिर रूपान्तरण गर्ने अवसर पनि मैले पाएँ। लोकतान्त्रिक प्रक्रियाको नेतृत्व पनि गरेकाले म विशिष्ट व्यक्तिमा पर्न गएँ,’ प्रचण्डले भने।