
धादिङको दरिङगाल खोलामा बालुवा झिक्न खनेको खाल्डोमा परेर गजुरी गाउँपालिका -६ ठूलीफाँटमा दुई जनाको मृत्यु भएको छ। खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका -७ का १९ वर्षका भीम तामाङ र २१ वर्षे सुमन तामाङको शनिबार खाल्डोमा रहेको पानीमा डुब्दा मृत्यु भएको हो।
बालुवा तस्करले खोलामा डोजर लगाएर खाल्डो बनाएको र त्यही खाल्डोमा डुबेर युवाहरूको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले डोजरमा आगजनी गरेका छन्। तीन वटा डोजरमा आगो लगाइदिएका हुन्। बालुवा तस्करले राती खोलाबाट बालुवा निकाल्दा खाल्डो बनेको त्यो खाल्डोमा पानी भरिएको थियो। स्थानीय बासिन्दाले दोषीलाई कारबाहीको माग गरेका छन्। घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।