
सुस्त मनस्थितिकी किशोरीमाथि सामूहिक बलात्कारको घटना गाउँमै मिलापत्र गराउने व्यक्तिहरु प्रहरीको फरार सूचीमा परेका छन् ।
मोरङको रङ्गेली नगरपालिकामा सुस्त मनिस्थितिकी १६ वर्षीय किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनामा मिलापत्र गराउने एकै गाउँका १० जना फरार सूचीमा परेका हुन् ।
किशोरी बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार छन् । इलाका प्रहरी कार्यालय रंगेलीले १० जना मतियार र तीन आरोपीसहित १३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता गरी अनुसन्धान सुरु गरेको हो ।
पीडित पक्षलाई मिलापत्र गर्न दबाव दिएको आरोपमा रामबहादुर राजवंशी, निमलाल राजवंशी, शेखर गौतम, चित्रासेन राजवंशी, अभिनव बजगाई, गणेशप्रसाद दाहाल, दिलिप मुर्मु, रेवतबहादुर काफ्ले, सुवास राजवंशी र चेतबहादुर मगर फरार छन् । पीडक पक्षको तर्फबाट पीडितलाई दबाव दिएर मिलापत्र गराउनेहरू गाउँका अगुवा हुन् ।
मोरङका डीएसपी खिइजुले मिलापत्र गराउनेहरुको खोजी कार्य भइरहेको बताए ।
असार २६ गते भएको मिलापत्रमा साउन ६ गते रकम दिने सहमति भएको थियो । तर साउन ६ गते अघि नै घटना बाहिरिएपछि लेनदेन भएको छैन । सुस्तश्रवण भएकी बालिकालाई विराटनगरस्थित सामाजिक संस्थाको संरक्षण गृहमा राखिएको छ ।