
प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो ।
पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन् । सरकार गठन भएदेखि नै मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावको कारण सरकारले प्रभावकारी रुपले काम गर्न नसकेको गुनासो गर्दै आएकोमा विधेयक पारित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “अब प्रदेश नं २ सरकारले आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज र प्रभावकारी बनाउने छ ।”
मुख्यमन्त्री राउतले भने, “लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरे पनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन । अब विधेयक प्रमाणीकरणलगत्तै लोकसेवा आयोग गठन प्रक्रिया अगाडि बढाइन्छ ।” प्रदेशसभाको अर्को बैठक बिहीबार दिनको ३ बजे बस्ने भएको छ ।