टोरोन्टोले अब प्लेअफको इलिमिनेटरमा विनिपेग होक्ससँग खेल्ने…

In खेलकुद
२३ श्रावण २०७६, बिहीबार १०:२१

नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ ।क्यानाडामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै टोरोन्टो प्लेअफमा प्रवेश गरेको हो । १९० रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको मोन्टरियल टाइगर्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १५४ रन मात्रै बनाएपछि टोरोन्टोले जित हात पारेको हो ।म्याथ्यु क्रसले ३९, दिनेश चन्डिमलले ३६ र केली कोट्जरले १८ रन बनाए पनि अन्य खेलाडीले राम्रो स्कोर बनाउन नसक्दा हार ब्यहोरेको हो । टोरोन्टोको जितमा मिचेल मेग्क्लेनघन र क्रिस ग्रीनले समान ३–३ विकेट लिए । सन्दीप लामिछानेले पनि एक विकेट लिए । सन्दीपले तीन ओभर बलिङ गर्दै २५ रन खर्र्चिएर एक विकेट हात पारे ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८९ रनको ठूलो स्कोर बनाएको थियो । उसका लागि रोड्रिगो थोमसले ७० तथा हेनरिच क्लासेनले अविजित ६४ रन बनाएपछि ठूलो स्कोर बनाएको थियो ।टोरोन्टोले अब प्लेअफको इलिमिनेटरमा विनिपेग होक्ससँग खेल्नेछ ।