
मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो।
आव २०७४ ७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियता बढेसँगै लागुऔषध दुव्यर्सनी तथा ओसारपसारका घटनामा वृद्धि भएको बताउँछन्। “खुला सिमानाका कारण तराई क्षेत्रबाट लागुऔषध धेरै ओसारपसार हुने गरेको छ”, उनी भन्छन्।
नेपालमा वार्षिक ११ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको दर बढेको भन्दै यसलाई न्यूनीकरण गर्न गृह मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। गाँजा, अफिमलगायतका लागुऔषध नेपालको पहाडी र भित्री मधेसमा धेरै उत्पादन हुने गरेको भन्दै यसलाई न्यूनीकरण गर्न प्रहरी मात्र नभएर स्थानीयवासी नै सक्रिय रुपले लाग्नुपर्ने लागुऔषध ब्यूरोका प्रहरी नायब उपरीक्षक थापा बताउँछन्। प्रहरीले हाल लागुऔषध ऐन, २०३३ अनुसार मुद्दा चलाउँदै आएको छ।