
प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ मागेको भेटिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित दुई जना प्रहरीलाई पक्राउ गरेसँगै यो कर्तुत सार्वजनिक भएको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विशेष सूचना र उजुरीका आधारमा खटिएको टोलीले प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई १८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।
काठमाडौं-८, मिथिला काबेली यातायात र अनलाइन डिलक्सको टिकट काउन्टर अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको कोइरालाले बताए ।
पक्राउ परेका दुवै जना महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत थिए ।
यसअघि २७ असारमा सवारी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने भन्दै एक लाख घुस लिने ४ प्रहरी जवान पक्राउ परेका थिए ।