
पछिल्लो समय विदेशका अपरिचित नम्बरबाट नेपालमा कल आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता फोन नउठाउन सर्वसाधारणलाई आग्रह गरेको छ । केहीदिन यता ल्यान्डलाइन टेलिफोन या मोबाइलमा फोन तथा मिसकल आउने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् । प्राधिकरणले एक सूचना जारी गर्दै यस्ता फोनहरू हत्तपत्त नउठाउन भनेको छ ।
विदेशका अपरिचित नम्बरहरुबाट आउने मिसकलमा कलब्याक नगर्न प्राधिकरणले आग्रह गरेको हो । कतिपय मोबाइल प्रयोगकर्ताले यस्तो फोन कल आउँदा रातो देखिने गरेको र ‘स्काम कल’ भनेर आउने गरेको बताएका छन् । यसले प्रयोगकर्तालाई त्रसितसमेत बनाएको छ ।
प्राधिकरणका अनुसार यसरी विदेशका अपरिचित नम्बरबाट आउने कल विशेष गरी प्रयोगकर्तालाई ठग्नका लागि गरिन्छ । प्राधिकरणले यसको रोकथामका लागि दूरसञ्चार सेवाप्रदायकहरूलाई निर्देशन दिइसकिएको जानकारी गराएको छ ।