
ः सरकारले तीन वर्षअघि शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’अन्तर्गत अहिलेसम्म १२१ तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरेको छ ।
सरकारले दुर्गम ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि थालेको उक्त कार्यक्रमअन्तर्गत अहिले थप १० स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेको स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गरी त्यस ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न निर्देशन दिनुभएको हो ।
“आवश्यक भएको स्थानमा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइरहेका छौँ”, उहाँले भन्नुभयो । सबै जिल्ला प्राविधिक कार्यालयमार्फत तुइनको विवरण सङ्कलन गरिएको थियो । चौवन्न तुइन नजीकै झोलुङ्गे पुल रहेकाले नयाँ पुल निर्माण आवश्यक नरहेको श्रेष्ठले बताउनुभयो । पहिचान भएका पाँच तुइन भारतको सीमामा रहेको उहाँले बताउनुभयो । “ती ठाउँमा अहिले पुल निर्माण शुुरु भएको छ”, उहाँले भन्नुभयो । चालु आवमा पाँच स्थानमा झोलुङ्गे पुल निर्माणको माग आएको छ । तीमध्ये चार ठाउँमा निर्माण शुरु भइसकेको छ । विभागले देशभर १२० मिटरभन्दा लामो झोलुङ्गे पुलको निर्माण गर्दै आएको छ ।
–––रासस