
संगठन सुदुढिकरण र सरकारलाई खबरदारी गर्न बैशाख २५ देखि ७७ वटै जिल्लामा ‘राष्ट्रिय जागरण अभियान’ संचालन गरिरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सरकारप्रति थप सशंकित र आक्रामक बनेको छ। सरकार एकपछि अर्को गर्दै निरंकशुतातर्फ अगाडि बढेको भन्दै कांग्रेसले सरकारका गलत कामको संसदबाट प्रतिरोध गर्ने चेतावनी दिएको छ।
कांग्रेसले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारलाई अनुरोध गरेको छ। बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले संविधानको मर्म र भावना विपरित संसदमा दर्ता भएका तीनवटा विधेयक फिर्ता दिन अनुरोध गर्ने निर्णय गरेको कांग्रेस सांसद डा. डिला संग्रौलाले जानकारी दिइन्।
‘संविधानको मर्म र भावना विपरित संसदमा दर्ता भएका तीनवटा विधेयक मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक तत्काल फिर्ता लिन अनुरोध गर्ने निर्णय भयो,’ सांसद संग्रौलाले डिसी नेपालसँग भनिन्, ‘हाम्रो आग्रहलाई सरकारले स्वीकार गरेन भने सशक्त प्रतिरोध गर्छौं।’
सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको सवत्र विरोध भइरहेको छ। ‘अहिले सरकारले संविधानको भावना र मर्म विपरित संसदमा तीनवटा विधेयक दर्ता गराएको छ। ती तीनैवटा विधेयकप्रति कांग्रेसको आपत्ति छ,’ कांग्रेस सांसद संग्रौलाले भनिन्, ‘सरकारले ती विधेयक सच्याउनु पर्छ वा फिर्ता गर्नुपर्छ भन्ने हाम्रो माग हो। सरकारले हाम्रो कुरा सुनेन भने संसद सधैं प्रतिपक्षको हुन्छ।’
प्रेसमाथिको बन्देज भनेको लोकतन्त्रमाथिको कू हो। यस्तो संवेदनशील विषयमा कांग्रेस चुप लागेर बस्दैन
‘सरकारल मिडियालाई बन्देज लगाउने र सरकारको लाचार छायाँ बनाउने गरी विधेयक संसदमा पेश गरेको छ,’ संग्रौलाले भनिन्, ‘प्रेसमाथिको बन्देज भनेको लोकतन्त्रमाथिको कू हो। यस्तो संवेदनशील विषयमा कांग्रेस चुप लागेर बस्दैन।’
‘तीनवटै विधेयक संविधानका प्रस्ताव र भावनाविपरीत छन्, यिनलाई फिर्ता लिएर संविधानअनुकूल बनाउन सरकारलाई हाम्रो आग्रह छ,’ उनले भने, ‘संविधानविपरीत प्रावधान राखेर बलजफ्ती लैजाने प्रयास भए हामी पनि चुप लागेर बस्दैनौं।’ संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे बुधबार बस्ने संसदीय दल बैठकले औपचारिक धारणा बनाउने उनले बताइन्।
मिडियाको स्वायत्तता र स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ल्याइएको विधेयक फिर्ता लिन कांग्रेसले सरकारलाई आग्रह गरिसकेको छ। सभापति शेरबहादुर देउवाले प्रस्तावित विधेयकलाई मिडियामाथि ‘कु’ को संज्ञा दिँदै त्यसलाई कुनै पनि हालतमा फिर्ता गराएरै छाड्ने बताएका थिए।