सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटब्युरो गठनको अन्तिम तयारी

In राजनीति
३१ बैशाख २०७६, मंगलवार ११:४०

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटब्युरो गठनको अन्तिम तयारी गरेको छ। आगामी जेठ ३ गते पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्य विभाजनको घोषणा गर्ने तयारी नेकपाले गरेको हो। गत ९ गते जिल्ला नेतृत्व घोषणा गरेको नेकपाले प्रदेश तहको नेतृत्व पनि टुंगो लगाइसकेको छ।

नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको काम टुंगो लागिसकेको छ। प्रधानमन्त्री रहेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया र भियतनाम भ्रमणमा जानुअघि नै सबै काम टुंगो लागिसकेको घोषणा हुन मात्रै बाँकी रहेको स्रोतको भनाइ छ।

अध्यक्ष ओली विदेश भ्रमणमा जानुअघि नै अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालय सदस्यहरूसँग छलफल गरेर पोलिटब्युरो गठनको प्रस्ताव तयार पारिएको हो। नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनमा सहमति जुटिसकेको भनिए पनि केही सदस्यहरूको नाममा भने अझै विवाद छ।

‘पोलिटब्युरोका सम्बन्धमा धेरै कुराहरू टुंगो लागिसकेको छ, केही सदस्यहरूको नाममा विवाद देखिएको छ,’ नेकपाका एक नेताले भने, ‘प्रधानमन्त्री स्वदेश फर्केपछि सबै टुंगो लाग्छ। जेठ ३ गते घोषणा गर्ने तयारी छ।’

नेकपाको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एकतिहाइ नबढ्ने गरी पोलिटब्युरो गठन गर्न सकिने व्यवस्था छ । यसै आधारमा १४७ जनाको पोलिटब्युरो गठन हुनेछ । यसअघि, नै अध्यक्षद्वयबीच पूर्वएमालेबाट ८२ र पूर्वमाओवादी केन्द्रबाट ६५ सदस्य पोलिटब्युरोमा राख्ने सहमति जुटिसकेको थियो ।

पोलिटब्युरो गठनमा पूर्वएमालेले वरिष्ठता, दोहोर्याएर केन्द्रीय सदस्य भएको लगायतलाई आधार बनाइएको छ। नेकपा स्रोतका अनुसार पदेन सदस्य अमृत बोहरा र आमन्त्रित सदस्यहरू सोमनाथ प्यासी, पुष्प कँडेल र केशव बडाललाई स्वतः पोलिटब्युरोमा ल्याउने तयारी छ। घनेन्द्र बस्नेत, देवराज घिमिरे, नरेश खरेल, केदार न्यौपाने पनि पहिलोपटक पोलिटब्युरोमा समेट्ने तयारी छ। कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, धर्मनाथप्रसाद साह पनि पोलिटब्युरोमा समेटिनेछन् ।

सचिवालय सदस्यहरू अध्यक्ष ओली, नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा स्थायी कमिटीमा रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुवीर महासेठ, रघुजी पन्त, वेदुराम भुसाल र विष्णु रिमाल पनि स्वतः पोलिटब्युरो सदस्य हुनेछन्।

पोलिटब्युरो गठनका सम्बन्धमा पूर्वमाओवादीभित्र नाम छनोट गर्न सकस देखिएको छ। पूर्वमाओवादीको भागमा परेका ६५ जनामा ७५ जनाको नाम सिफारिस भएको छ। जसमा पार्टी एकतापछि स्थायी कमिटी र सचिवालयमा रहेका १९ जना स्वतः पोलिटब्युरोका लागि योग्य हुनेछन्। बाँकी सदस्यहरूको टुंगो लगाउन सकस देखिएको हो। स्रोतका अनुसार बाँकी रहेका ४६ जनाको टुंगो तत्कालीन नेकपा माओवादी सचिवालयमा रहेका ९९ जनाबाट लाग्नेछ।

पूर्वमाओवादीबाट सचिवालयमा रहेका पुष्पकमल दाहाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू वर्षमान पुन, शक्तिबहादुर बस्नेत, अमिक शेरचन, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायामाझी, देवेन्द्र पौडेल, पम्फा भुसाल, टोपबहादुर रायमाझी, गणेश साह, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, हरिबोलप्रसाद गजुरेल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट स्वतः पोलिटब्युरो सदस्य हुनेछन्।

गत वर्ष जेठ ३ गते पार्टी एकता घोषणा भएको थियो। सबै तहको एकता तीन महिनाभित्र पूरा गर्ने भनिएकोमा एक वर्षमा पनि सकिएको छैन । जेठ ३ तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको स्मृति दिवस हो।