विवाद भएपछि बंगलादेशले फेर्यो क्रिकेटको जर्सी…

In खेलकुद
१९ बैशाख २०७६, बिहीबार १७:५७

विश्वकप क्रिकेट नजिकिदैं गर्दा बंग्लादेश अलग किसिमको विवादमा फसेको छ। सो विवाद जर्सीलाई लिएर भएको हो।
जर्सीका कारण विवाद बढेपछि विश्वकपका लागि भनेर सार्वजनिक गरिएको जर्सीलाई फेर्न बंग्लादेश बाध्य भएको छ।
जर्सीको रंगका कारण विवाद भएको हो।
सामान्यतया बंग्लादेशको जर्सीमा दुई रंग हुने गर्छ- हरियो र रातो। जसमा धेरै हिस्सा हरियो रंग हुनेगर्छ। रातो रंगलाई भने पाखुरा वा अन्य भागमा प्रयोग गरिन्छ।
तर यसपटक बंग्लादेशले हरियो रंगमात्र भएको जर्सी सार्वजनिक गर्यो। झल्क्क हेर्दा यो पाकिस्तानी क्रिकेट टोलीको जर्सीजस्तो देखियो। यस्तो देखिएपछि बंग्लादेशी क्रिकेट समर्थकले चर्को आलोचना गरे। जसका कारण बंग्लादेश क्रिकेट बोर्डले अन्तराष्ट्रिय क्रिकेट बोर्डसँग जर्सी परिवर्तनको अनुमति नै माग्नुपर्यो।
आईसिसीले पनि सो प्रस्ताव स्वीकार गर्यो। त्यसपछि बंग्लादेशले नयाँ जर्सी सार्वजनिक गरयो जसमा उसले हरियो तथा रातो दुबै रंग प्रयोग गरेको छ।हरियो जर्सीमा छाती र पाखुरामा रातो रंग प्रयोग भएको छ।
बंग्लादेश क्रिकेट बोर्डका अध्यक्षले आईसिसीले सुरूमा रातो रंग प्रयोग नगर्न भनेकाले प्रयोग नगरेको बताए। तर आईसिसीले यसलाई अस्वीकार गरेको छ। उसले आफूले नाम तथा नम्बर लेख्दा मात्र रातो रंग प्रयोग नगर्न भनेको बतायो। उसले हरियोमा रातो अक्षर पढ्न सजिलो नहुने भएकाले अक्षरको रंगमा रातो प्रयोग नगर्ने भनेको बताएको छ।