सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने : डा. बाबुराम भट्टराई

In राजनीति
१३ बैशाख २०७६, शुक्रबार १८:२६

नयाँ शक्ति पाटीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने दाबी गरेका छन्। संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे।
शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डवमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उहाँले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्र्याउने काम निजी क्षेत्रले नै गर्नुपर्ने तर्क गरे। त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीति÷कानुनको तर्जुमा गरिदिनुपर्ने संयोजक भट्टराईको भनाइ छ।
संयोजक भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन तुलानात्मक लाभका क्षेत्रहरुको पहिचान गरी लगानी गर्न पनि व्यवसायीलाई आग्रह गरे। कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सरकार तत्पर रहेको बताए।
उनले पर्यटन क्षेत्रलाई व्यापारको रुपमा नभई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन जनप्रतिनिधिको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको मेलामा सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १ सय ११ वटा व्यवसायिक तथा फुड स्टलहरु रहेका छन्। मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरु टे«किङ, ट्राभल्स, एयरलाईन्स, होमस्टे, टुरिज्मसँग सम्बन्धित कलेजलगायतका प्रर्दशनीहरु मुख्य आकर्षणको रुपमा राखिएका छन्।
‘पहिला देश अनि विदेश’ भन्ने मूल नाराका आयोजना गरिएको मेलामा २ लाख बढिले अवलोकन गर्ने तथा पर्यटन प्रवद्र्धनको क्षेत्रमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ।