706 views 5 secs 0 comments

चार दशकदेखि एउटै माग

In देश, राजनीति, समाज
५ मंसिर २०७४, मंगलवार ११:०९

 

 

धियाँल (मकवानुपर): पूर्वीमकवानपुरको बकैयाँ गाउँपालिका–२ धियाँलस्थित दोभान गाउँ प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुको पोष्टर र झण्डाले रंगिएको छ । चौतारीमा दैनिक एउटा न एउटा पार्टीको कार्यक्रम टुट्दैन । देशमा शासन फेरिएको छ, समय फेरिएको छ, वरपरको परिवेश फेरिएको छ । सँगै उम्मेदवारहरुको चुनावी एजेण्डाहरु पनि फेरिँदै गएको छ ।

तर, दोभनसँगै धियाँल र छिमेकी छतिवन र फापरबारीका जनताले चार दशकदेखिको एउटै माग छ, ‘हकभोग गर्दै आएको जमिनको लालपूर्जा ।’ हरेक चुुनावमा पटक पटक नेतृत्व फेरिए तर उनीहरुको माग भने उस्तै रहे ।

७० वर्षीय इन्द्रबहादुर लामा दोभान चौतारीमा हुने प्रायः चुनावी सभा छुटाउँदैनन् । घाम ताप्न र समय कटाउन आइतबार मध्यान्न चौतारीमा जम्मा भएका उनी सहयात्रीहरुसँग गफिँदै थिए, ‘आफ्नै हातले छोरानातीलाई लालपूर्जा थमाउन पाए हुन्थ्यो ।’ पटक–पटक लालपूर्जासँग भोट साटेका उनले भोट दिएपनि बदलामा लालपूर्जाको लागि पहल नभएको भन्दै दुःख व्यक्त गरे । ‘२०३२ सालमा नापी भएको जग्गाको अहिलेसम्म लालपूर्जा छैन’, लामाले भने, ‘अरु काम नभएपनि अब जित्ने सांसदले यो काम गरिदिएहुन्थ्यो ।’

दोभानकै ६३ वर्षीय मर्ज सिं स्याङ्तान पानी घट्ट चलाउँछन् । आफुसँग पैसा नहुँदा सुधारिएको घट्ट चलाउने उनको रहर अधुरै छ । ‘बैंकमा केही ऋणको कुरा गरेको थिए, तर जग्गाको लालपूर्जा माग्दोरैछ’, उनले भने, ‘लालपूर्जा नहुँदा मैले काम गर्न सकिँन ।’ स्याङ्तानजस्तै यस क्षेत्रका धेरै व्यवसायी तथा किसानहरुले जग्गाको लालपूर्जा नहुँदा बैंकसँग ऋण कारोबार गर्न पाएका छैनन् ।

फापरबारीका मोहन गोले लालपूर्जा बनाउन पहल गर्दा गर्दै स्थानीय थाकिसकेको बताउँछन् । दुईवर्ष अघि सुकुम्बासी समस्या समाधान आयोगमा जग्गा दर्ताको निवेदन दिएका उनले बाजेको पालामा नापी भएको जग्गाको लालपूर्जा अहिलेसम्म नपाएको गुनासो गरे ।

धियाँल, फापरबारी र छतिवनमा गरी करिब पाँच हजार परिवारले नापी भएको जग्गाको लालपूर्जा नपाएको अनुमान छ । धियाँलमा मात्र करिब एक हजार परिवार लालपूर्जा बिहिन रहेको बकैयाँ गाउँपालिका २ नम्बर वडा अध्यक्ष बिरमान बलले बताए । ‘धियाँलको एक प्रतिशत जनतासँग मात्र लालपूर्जा छ’,उनले भने,‘अरु सबै काजको भरमा किनबेच हुने गरेको छ ।’ लामो समयदेखि लालपूर्जाको लागि पहल गरेपनि स्थिर सरकार र माथिल्लो निकायका नेताहरुले चासो नदिँदा लालपूर्जा ल्याउन नसकिएको उनले गुनासो गरे । पटक पटक गठन भएका सुकुम्बासी समस्या समाधान आयोगहरुले जग्गा दर्ता प्रक्रिया अघि बढाएपनि जग्गा दर्ता भने कुनै पनि आयोगले पुरा गर्न सकेका छैनन् ।

मकवानपुर–२ मा पर्ने यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र वाम गठबन्धनबाट एमालेका कृष्ण दाहाल चुनावी मैदानमा छन् । प्रदेशसभामा भने मकवानपुर–२ (क) मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका धर्म लामिछाने र वाम गठबन्धनबाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी (छिन्तु) उम्मेदवार बनेका छन् । थापा र दाहालबीच चौथो पटक प्रतिस्पर्धा हुँदै छ ।

०४८, ०५१ र ०५६ पछि यी दुई प्रतिद्वन्द्वी १८ वर्षपछि पुनः आमनेसामने भएका हुन् । ०४८ र ०५६ मा दाहाल विजयी भए भने ०५१ को मध्यावधि निर्वाचन थापा विजयी भए । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार वाम गठबन्धन अगाडि छ । स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनको ४० हजार १ सय ३६ र लोकतान्त्रिक गठबन्धनको ३२ हजार ४ सय ९७ मत छ ।