
लण्डन। बेलायतमा अपराधीहरुले जेलमा सजाय काटिरहेका कैदीहरुलाई मद्दत पुर्याउन नयाँ तरिका निकालेको पाइएको छ । यहाँ एक जेलमा अधिकारीहरुले ३ वटा मरेका मुसा भेटेका छन् । अधिकारीहरुलाई सुरुमा त यो घटना सामान्य लाग्यो तर जब मुसाको पेटमा चिरेर सिलाइएको देखियो त्यसपछि भने अफिसरहरुलाई शंका लाग्यो । पेट खोलेर हेर्दा त्यहाँभित्र गैरकानुनी चीजहरु भेटिएको बीबीसीले जनाएको छ ।
यी सामानहरु मरेका मुसाको पेटभित्र राखेर जेलको कम्पाउण्डभित्र फ्याँकिएका थिए ताकि जेलभित्र भएका कैदहिरुले यी मुसाभित्रबाट निकाल्न सकुन् । अपराधीहरुले यस्तो काम लामो समयदेखि गरिरहेको स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरुले यसबारे भर्खरै पत्तो पाएका हुन् । दक्षिण पश्चिम इङल्याण्डको डोरसेटस्थित एक जेलमा अहिले यी मरेका मुसा भेटिएपछि रहस्य खुलेको हो । यी मुसाको पेटभित्रबाट पुलिसले ५ मोवाइल फोन, चार्जर, सिमकार्ड र चुरोटको कागज भेटियो । मुसाभित्र गाँजा, सुर्ती र ठूलो परिमाणमा लागूऔषध पनि बरामद गरेको छ । बेलायतकी जेल मन्त्री रोरी स्टिवर्टका अनुसार अपराधीहरु जेलमा रहेका आफ्ना साथीहरुलाई ड्रग्स पर्याउन कुन हदसम्म जान सक्छन् भन्ने यो घटनाले देखाएको छ । उनले बेलायतका जेलमा सुरक्षा व्यवस्था बढाउन अब अझै जरुरी भएको बताइन् । मन्त्रीले जेलभित्र मुसा कसरी पुगे भन्ने विषयमा भने केही बताइनन् ।
अधिकारीहरुका अनुसार यसअघि पनि गैरकानुनी चीजहरु जेलभित्र पुर्याउनको लागि अपराधीहरुले फरक फरक तरिका अपनाएका थिए । उनहिरुले टेनिस बल, परेवा र ड्रोनको समेत प्रयोग गरेका थिए । अहिले नयाँ तरिकाका कारण जेलमा नशा गर्ने कैदीको संख्या बढेको छ । गत वर्ष मार्चमा यहाँका २० प्रतिशत कैदीले ड्रग्स लिएको रिपोर्टमा खुलेको थियो । पछिल्लो १ वर्षका यो संख्या २३ प्रतिशत पुगेको बताइएको छ ।