
राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् । विप्लवलाई राजनीतिक व्यवहार नगर्न गृहमन्त्रीले दिएको निर्देशनलाई कुनैले मुख्य समाचार बनाएका छन् भने केहीको नजर घट्दो विदेशी मुद्रा स्रोत, प्रदूषणमा परेको छ । सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका सीके राउतका सम्भावित कदमबारे पनि आजका पत्रिकाहरुले चर्चा–परिचर्चा गरेका छन् ।
कुनै बेलाका आफ्नै सहयात्री नेत्रविक्रम चन्द विप्लवलाई गृहमन्त्री रामबहादुर थापाले राजनीतिक व्यवहार नगर्न दिएको निर्देशनलाई कान्तिपुरले मुख्य समाचार बनाएर छापेको छ । कान्तिपुरका अनुसार, सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।