अस्ट्रेलियासँग हार्यो भारत, अस्ट्रेलियामा कोहलीले शतक हान्दा भारतले कहिल्यै जितेको छैन

In खेलकुद
३ पुष २०७५, मंगलवार १४:३७

पर्थ। अस्ट्रेलियाविरुद्ध पर्थमा खेलिएको दोस्रो टेस्टमा भारत १४६ रनले हारेको छ । यो जीतसँगै सिरिज १–१ को बराबरी भएको छ । टेस्ट जित्नको लागि भारतले चौथो इनिङमा २८७ रनको लक्ष्य पाएको थियो । तर, भारतीय टिम १४० रनमै अलआउट भयो । यो टेस्टमा कप्तान भारतीय विराट कोहलीले पहिलो इनिङमा १२३ रन बनाएका थिए । यो उनको अस्ट्रेलियामा छैटौं शतक थियो ।

आज सकिएको टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले मार्कस ह्यारिसको ७० रनको मद्दतमा ३२६ रन बनाएको थियो । त्यसपछि आफ्नो पहिलो इनिङ ब्याटिङ गरेको भारतले २८३ रन बनायो । आफ्नो दोस्रो इनिङ सुरु गनुअगावै अस्ट्रेलियाले ४३ रनले लिड गरिरहेको थियो । आफ्नो दोस्रो इनिङमा अस्ट्रेलियाले २४३ रन बनायो । २८७ रनको लक्ष्य लिएर अन्तिम इनिङ ब्याटिङ गर्न उत्रिएको भारत १४० रनमै अलआउट भयो ।

अस्ट्रेलिया र भारतीय कप्तान विराट कोहलीको अनौठो संयोग छ । कोहलीले अस्ट्रेलियामा खेलिएको टेस्टमा शतक प्रहार गरेको खेल भारतले कहिल्यै पनि जितेको छैन । त्यही संयोग अहिले पनि दोहोरिएको छ । अहिलेसम्म कोहलीले अस्ट्रेलियामा ६ शतक हानेका छन् । ती ६ टेस्टमध्ये ४ टेस्ट अस्ट्रेलियाले जितेको छ र २ टेस्ट ड्र भएका छन् । कोहलीले अस्ट्रेलियामा पहिलो टेस्ट शतक २०१२ मा हानेका थिए ।

२०१२ मा पर्थमा खेलिएको टेस्टमा कोहलीले ११६ रन बनाउँदा यो टेस्ट अस्ट्रेलियाले २९८ रनले जित्यो । २०१४ मा त कोहलीले पहिलो इनिङमा ११५ र दोस्रो इनिङमा १४१ रन गरी दुई शतक बनाए । यो टेस्ट अस्ट्रेलियाले ४८ रनले जितेको थियो । २०१४ मै मेलबर्न टेस्टमा कोहलीले १६९ बनाए । त्यही वर्ष उनले सिडनीमा १४७ रन बनाए । यी दुवै टेस्ट ड्र भए । अहिले पर्थमा कोहलीले १२३ रन बनाएको टेस्ट भारतले १४६ रनले गुमायो ।