808 views 0 secs 0 comments

विप्लवका पाँच कार्यकर्ता पक्राउ

In देश, राजनीति
४ मंसिर २०७४, सोमबार ०१:१७

बैतडी : बैतडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपाका कार्यकर्ताहरुले चुनाव विरोधी गतिविधि गर्न सक्ने भन्दै उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए।

नेकपा कार्यकर्ताहरुलाई पाटन, पुरचौंडी र सित्तडबाट नियन्त्रणमा लिइएको हो। ‘देशका विभिन्न ठाउँमा नेकपा कार्यकर्ताहरुले चुनाव विरोधी गतिविधि गरिरहेका छन्। त्यस्तो नहोस् भन्नका लागि हामीले उच्च सुरक्षा सतर्कता अपनाएका छौं’उनले भने।
यस्तै निर्वाचनलाई मध्यनजर गरेर जिल्लाभरी सुरक्षा अवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए। चुनावका लागि जिल्लाभरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।
यस्तै चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि सीमा नाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी जोशीले बताए । बिरामी बाहेकका सबैलाई त्यो बेला नाकाबाट आवतजावत गर्न नदिइने उनले जानकारी दिए। चुनावी सुरक्षालाई मध्यनजर गरेर ७२ घण्टा सीमा बन्द गर्ने सहमति यसअघि नै दुईदेशका सुरक्षा अधिकारीहरुबीच भइसकेको छ।