607 views 0 secs 0 comments

हुवावेकी वित्तीय प्रमुखलाई अदालतबाट जमानत

In विश्व
२७ मंसिर २०७५, बिहीबार ११:२४

क्यानाडा- क्यानाडाको एक अदालतले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ। अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ परेकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो।

अदालतले मेङमाथि ७५ लाख अमेरिकी डलर जमानत माग गरेको छ। साथै, पासपोर्ट क्यानाडेली सरकारलाई बुझाउन र विद्युतीय अनुगमन गरिने अदालतको आदेश छ।

चीनले मेङको गिरफ्तारीलाई लिएर कडा शब्दमा भत्र्सना गर्नुका साथै चीनस्थित अमेरिका र क्यानाडाका राजदूतलाई बोलाएर बिरोध जनाएको थियो। साथै, अदालतबाट भएको शर्त सहितको जमानतप्रति पनि चीनले आपत्ति जनाएको छ।

अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरुको चिनिया कम्पनी हुवावेले उल्लङ्घन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ।

उनलाई अदालतको आदेश प्राप्त गर्नासाथ रिहा गरिनेछ। भ्यानकुभरमा उनका पति लिउ झाओझोङको निवासमा बस्न मेङलाई अनुमति दिइएको छ। अदालतमा उपस्थित मेङका समर्थकहरुले न्यायाधीशको आदेशपछि खुशीयाली मनाएका थिए।

मेङलाई डिसेम्बर १ तारिखमा भ्यानकुभरमा प्रहरीले पक्राउ गरेको थियो। अमेरिकी अधिकारीहरुले मेङको गिरफ्तारी चीनसँगको व्यापार वार्तासँग सम्बन्धित नरहेको बताएका छन्।

हुवावे प्रविधिको क्षेत्रमा चीनको विश्वव्यापी पहुँच रहेको मुख्य कम्पनी हो, तर हुवावेले उपलब्ध गराएका कतिपय सेवाहरुमाथि संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्यूजिल्यान्ड र बेलायतले सुरक्षाको कारण दर्शाउँदै प्रतिबन्ध लगाएका छन्।

हुवावेका संस्थापककी छोरी मेङमाथि इरान विरुद्धका अमेरिकी प्रतिबन्धहरुलाई बेवास्ता गरी व्यापारिक सम्बन्ध कायम राखेको र बैंकहरुलाई ढाँटेको आरोप लागेको छ। यदि मेङ दोषी ठहरिए उनलाई ३० वर्षभन्दा बढी जेल सजाय हुन सक्नेछ।

आगामी फेब्रुअरी ६ बाट मेङलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया शुरु हुनेछ। तर कानुनी जटिलताका कारण यो प्रक्रिया पूरा हुन महिनौं, वर्षौं लाग्न सक्ने बताइएको छ। एएफपी