
काठमाडौं । नेपाल र कतारबीच नयाँ श्रम समझदारी हुने भएको छ । जिसिएम महासभामा कोलम्बो प्रोसेसका १२ वटा राष्ट्रहरुको प्रतिनिधित्व गर्दै मोरक्को पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र कतारका श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ महम्मदबीच भएको छलफलमा कतारमा नेपाली कामदार नयाँ प्रक्रियाबाट लैजाने बारे छलफल भएको हो ।
वैदेशिक रोजगारका लागि जाने नेपाली श्रमिकहरु रोजाइको मुलुकमा कतार पनि रहेको छ । नेपाल सरकारले मलेशियामा कामदार पठाउन रोक लगाएसँगै नेपाली कामदारहरु कतार जाने क्रम बढ्दो छ । वैदेशिक रोजगारको क्रममा नेपाली कामदारहरुले विभिन्न समस्यासमेत झेल्दै आउनु परेको छ । यो समस्या भने कुनै नौलो होइन । वैदेशिक रोजगारका क्रममा नेपाली कामदारहरु समस्यामा पर्दै आएपछि नेपाल सरकारले वैदेशिक रोजगारमा जाँदा नेपाली कामदारहरुलाई जोखिम न्यूनिकरणका लागि पहल गर्न जोड दिइरहेको छ ।
नेपाली कामदारले वैदेशिक रोजगारको क्रममा भोग्नुपर्ने विभिन्न समस्या मात्र नभएर अन्य जुन मूलुकका कामदारहरु वैदेशिक रोजगारमा जाने गर्दछन् उनीहरुको वैदेशिक रोजगारको यात्रा नियमित, सुरक्षित र व्यबस्थित गर्न हाल १ सय ९३ वटा देशका प्रतिनिधिहरु मोरक्को पुगेका छन् ।
मोरक्को जिसिएम महासभाका क्रममा नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता परिमार्जन गर्ने उद्देश्यका लागि दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिमार्फत पहल गर्ने विषयमा समेत छलफल भएको थियो ।
मन्त्री विष्ट र कतारका मन्त्री युसुफबीच आइतबार राति द्विपक्षीय भेटवार्ता भएको थियो । वार्ताका क्रममा नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता परिमार्जन गर्ने विषयमा छलफल भएको हो ।
यसअघि दुई देशबीच मार्च २१, २००५ मा पहिलो पटक श्रम सम्झौता भएको थियो । चार वर्षको अबधि रहने उक्त श्रम सम्झौताको म्याद समाप्त हुनुभन्दा ६ महिना अगाडी कुनै एक मूलुकले खारेज नगर्ने लिखित सुचना जारी गरे स्वतः थप चार वर्षका लागि नवीकरण हुने व्यबस्था उल्लेख गरिएको थियो । त्यसअनुसार नै सन् २००९, २०१३, र २०१७ मा तीनपटक नवीकरण भइसकेको छ ।
कतार र नेपालबीच हुने नयाँ श्रम समझदारीपछि नेपाली कामदारहरु शून्य लागतमा कतार जान पाउने र अन्तराष्ट्रिय श्रम संगठन आइएलओको मापदण्ड अनुरुप नै सम्पूर्ण सेवा सुविधा प्राप्त गर्ने प्रावधान हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
हाल कतार र नेपालबीच चलिरहेको सम्झौतामा कामदारको सुरक्षा, भिसा शुल्क, भिसा प्रोसेसिङ, मेडिकल जाँच, न्यूनतम पारिश्रमिक, बिदा, तलबी बिदा, राहदानी कामदारसँगै राख्न पाउने व्यबस्था, सामाजिक सुरक्षा, महिला कामदारको हकमा विशेष सुरक्षा, बिमा लगाएतका विषय नसमेटिएको मन्त्रालयले जनाएको छ ।
कतार नेपाली कामदारहरुको गन्तव्य मुलूक बन्दै आएकोले अत्याधिक संख्यामा नेपाली कामदारहरु कतार रोजगारको लागि जाने गरेका छन् । कतारमा गत आर्थिक वर्षमा १ लाख ८३ हजार भन्दाबढी कामदारहरु वैदेशिक रोजगारका लागि गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।
भेटवार्ताका क्रममा मन्त्री विष्ट र कतारका मन्त्री युसुफबीच आप्रवासी श्रमिकका विभिन्न पक्षबारे गम्भीर छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रीहरुबीच प्रवासी श्रमिकका पक्षमा विभिन्न कल्याणकारी कार्यक्रम सुनिश्चित र आप्रवासी श्रमिकका अधिकार तथा संवेदनशीलता सम्बोधन गर्ने विषयमा समेत छलफल भएको थियो ।
सो क्रममा मन्त्री विष्टले नेपालमा प्रशस्त लगानीको सम्भावना भएकाले जलविद्युत्, कृषि, पर्यटन तथा मिनरल वाटरका क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह गरेका थिए । सोही अवसरमा मन्त्री विष्टले कतारी समकक्षीलाई उपयुक्त समय पारेर नेपाल भ्रमणका लागि आमन्त्रण समेत गरेका थिए ।