
काठमाडौं – १५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बुधवार बूढानीलकण्ठ नगरपालिकाकी कमला पन्त सम्मानित भइन्। उनी विगत पाँच वर्षदेखि महिला स्वयं सेविकाको रुपमा सक्रिय छिन्।
उनले परिवार नियोजनको साधन वितरण गर्ने, गर्भवती महिलालाई गर्भजाँच गर्ने तथा सुरक्षित प्रसूति सेवा पु-याउने लगायतका जिम्मेवारी निर्वाह गदै आएकी छिन्। यी र यस्तै गतिविधिमा उनी विगत १० वर्षदेखि सामाजिक काममा सक्रिय छिन्।
यही अवधिमा उनले शिक्षाबाट वञ्चित महिलाहरुलाई शिक्षित बनाउने अभियान पनि चलाएकी छिन्। पन्त आफैंले भने १० कक्षा सम्म मात्र पढेकी छिन्। हाल उनी एक सय ३५ महिलालाई पढाइरहेकी छिन्। जहाँ १६ देखि ६० वर्षीया निरक्षर महिला अध्ययनरत छन्।
निरक्षरहरुलाई पढाइरहँदा उनमा पनि थप पढ्ने जोस बढेको छ। ‘म आफैंले विद्यालय सञ्चालन गरें। आफ्नै पढाइ कम भएपछि अप्ठेरो लागेको छ,’ उनले भनिन्। यी सबै व्यवस्थापन गर्न भने सजिलो छैन।
स्वयंसेविकाको कम गरेबापत उनले कुनै पारिश्रमिक भने पाउँदिनन्। वर्षमा एक पटक पोसाक भत्ता र प्रतिमहिना ४ सय रुपैयाँ मात्र उनका हातमा पर्छन्। समाजका लागि गरिने यी सब कामले उनलाई आन्तरिक सन्तुष्टि मिलेको छ। ‘अहिले पनि टोलटोलमा महिला हिंसा छ। महिलाहरु घरबाहिर निस्कन सक्दैनन्। त्यस्ता महिलाहरुको सेवा गर्न पाउँदा खुसी लाग्छ,’ उनले भनिन्।
कीर्तिपुरकी लक्ष्मी महर्जन स्वास्थ्य स्वयंसेविकाको भूमिकामा खटिन थालेको २५ वर्ष भइसकको छ। जति वर्ष भए पनि उनको काम प्रतिको लगाव भने घटेको छैन। सरकारले ल्याएको भिटामिन ए, पोलियो थोपा, परिवार नियोजनका साधन वितरण, विभिन्न खोप कार्यक्रम सञ्चालन गर्नुदेखि सुरक्षित मातृत्व कार्यक्रमका लागि परामर्श दिने काममा उनी खटिने गरेकी छिन्। साथै उनले महिनामा एक पटक आमा समूहको छलफल चलाउने गरेकी छिन्। उनी भन्छिन्, ‘टोलमा धेरैलाई स्वास्थ्यका बारेमा धेरै कुरा थाहा छैन। उनीहरुलाई सेवा दिन पाउँदा खुसी लाग्छ,’ महर्जनले भनिन्।
कीर्तिपुरकै अर्की स्वयंसेविका नीलकुमारी महर्जन पनि स्वयंसेवामा लागेको ३० वर्ष बितिसकेको छ। तीस वर्षको अवधिमा यी कामले उनलाई आर्थिक रुपमा ठूलो उपलब्धि केही भएन तर समाजमा भिन्नै पहिचान बनेको छ र सम्मान पनि मिलेको छ। ‘समाजमा स्वास्थ्य स्वयंसेविकाको रुपमा पहिचान पाइसकें। त्यसैमा खुसी छ,’ उनले भनिन्। सरकारले सुरुमा परिवार नियोजन कार्यक्रमको लागि महिला स्वयंसेविका कार्यक्रम सुरु गरेको थियो। तिनले विशेष कार्यक्रममा सहभागी भएबापत एकदुई सय भत्ताबाहेक अरु केही पाउँदैनथे।
विगत केही वर्षदेखि सरकारले स्वास्थ्य महिला स्वयंसेविकालाई वार्षिक ७ हजार पोशाक भत्ता र विशेष कार्यक्रममा खटिएबापत ४ सय रुपैयाँ उपलब्ध गराउँछ।
सेवाको दायरा फराकिलो हुँदै गएकाले सरकारले स्वयंसेविकाका लागि स्वास्थ्य बिमा र पर्याप्त भत्ताको व्यवस्था गरेमा स्वास्थ्य स्वयंसेविकाको भूमिका प्रभावकारी हुने उनीहरुको धारणा छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी तुइ–तुइले देशभरका महिला स्वयंसेविकाको प्रतिनिधित्व स्वरुप यो वर्ष बूढानीलकण्ठकी कमला पन्तलाई सम्मानित गरेको जनाइन्। पछिल्लो समय बद्लिँदो स्वास्थ्य समस्यासँगै स्वास्थ्य स्वयंसेविकाको भूमिका पनि बढ्दै गएको उनले बताइन्। ‘पहिला सरुवा रोग र प्रजनन् स्वास्थ्यको सेवा मात्र दिने गर्थे। हाल नसर्ने रोगहरुको स्वास्थ्य सूचना दिने काम पनि स्वास्थ्य स्वयंसेविकाबाटै हुने गरेको छ,’ तुइ–तुइले भनिन्। उनका अनुसार पछिल्लो समय नसर्ने रोगको रोकथामको साथै कृषि र शिक्षाको क्षेत्रमा समेत महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका बढिरहेको छ।
१५ औं राष्ट्रिय महिला स्वयंसेविका दिवसको अवसरमा बुधबार आयोजि कार्यक्रममा उपस्थित स्वयंसेविका र सरोकारवालाहरुले उनीहरुको भूमिका भविष्यमा पनि आवश्यक रहेको औंल्याए। कार्यक्रममा स्वास्थ्य स्वयंसेविकालाई संस्थागत रुपमा विस्तार गरी शिशु तथा आमाको स्वास्थ्यको साथै वृद्ध–वृद्धा स्वास्थ्य हेरचाहको काममा पनि उनीहरुबाट योगदान हुनसक्ने बताइयो।
कार्यक्रमलार्ई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य स्वयं सेविकाको भूमिका गहन रहेको बताए।
सोही अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य स्वंयसेविकाको भूमिका झनै फराकिलो बनिरहेको बताए। सचिव प्याकुरेलले स्वास्थ्य स्वयंसेविकाहरुले सेवाग्राही र सरकारलाई जोड्ने पुलको काम गरेको बताए। स्वयंसेविकाले स्थानीय तहमा परिवार नियोजन सेवा, गर्भजाँच, प्रसूतिपछि कवज लगाइदिने, प्रसूतिपछिकोे हेरचाह, स्तनपान, हात्तिपाइले, कुष्ठरोगलगायतका सेवा प्रभावकारी भूमिका खेल्दै आएको र पछिल्लो समय उनीहरुको भूमिका नसर्ने रोग, कृषि, महिला हिंसाविरुद्धको जनचेतनासम्म पुगिसकेको बताए।
कार्यक्रममा सहभागी आइपास नेपालकी कार्र्यक्रम संयोजक माधवी बज्राचार्यले स्वास्थ्य स्वयं सेविकाले सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्यमा समेत काम गरिरहेको बताइन्।
अहिले वडा–वडामा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले गर्भजाँच गर्ने र उचित स्थानमा गर्भ जाँच गर्न र नचाहेको गर्भपतन गर्नको लागि समेत सिफारिस गर्ने काम गरिरहेका छन्।
‘किट परीक्षण गरेर नचाहेको गर्भ छ भने सुरक्षित गर्भपतन सेवा दिने ठाउँमा पठाउँछन्। चाहेको गर्भ छ भने सुरक्षित मातृत्वको लागि परामर्श दिने गरेका छन्,’ संयोजक बज्राचार्यले भनिन्।