अार्सनलद्वारा टोटनह्याम पराजित

In खेलकुद
१७ मंसिर २०७५, सोमबार १२:२७

काठमाडाैं – इङ्लिश प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनह्यामलाई ४–२ ले पराजित गरेको हो। जितसँगै आर्सनल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

टोटनह्यामसँग समान खेलबाट समान अंक रहेपनि गोल अन्तरका आधारमा आर्सनल टोटनह्याम भन्दा एक स्थान माथि रहेको हो। आर्सनल र टोटनह्याम दुवैले १४ खेलबाट ३० अंक जोडेका छन्।

आइतबारको खेलमा आर्सनललाई जित दिलाउने क्रममा औवाम्याङले २ तथा लाकाजेट र टोरैराले एक एक गोल गरे। खेलको १० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा अग्रता कायम गरेको आर्सनलले ३० औं मिनेटमा बराबरी गोल खान पुगेको थियो। टोटनह्यामका इरिक डायरले इरिक्सेनको पासमा गोल गरेका थिए। त्यसको ४ मिनेटपछि नै टोटनह्यामले खेलमा अग्रता बनायो। हेरी केनले पेनाल्टी मार्फत गोल गर्दा पहिलो हाफमा टोटनह्याम २–१ ले अघि रह्यो। तर दोस्रो हाफ आर्सनलका लागि सुखद बन्यो। खेलको ५६ औं मिनेटमा आरोन रामसेको पासमा औवाम्याङले गोल गर्दै खेललाई बराबरीमा ल्याउँदा ७४ औं मिनेटमा लाकाजेट र ७७ औं मिनेटमा टोरैराले गोल गर्दै आर्सनलको जित पक्का गरेका थिए।