592 views 0 secs 0 comments

विवाद सतहमा, राजपाभित्र चर्को असन्तुष्टि

In देश
१० मंसिर २०७५, सोमबार १२:२०

काठमाडौं। अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि राजापभित्रको विवाद सतहमा आएको छ। पूर्व सहमति र पार्टी विधान अनुसार ४ मंसिरमा महतो राजपा अध्यक्ष मण्डलको संयोजक भएका थिए।

पार्टी एकीकरणपछि लामो समयसम्म अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुर थिए। पार्टी विधान अनुसार ठाकुरले महतोलाई अध्यक्ष मण्डलको जिम्मेवारी हस्तान्तरण गरेका थिए।

तर महतोलाई अध्यक्षम मण्डलको जिम्मेवारी हस्तान्तरण गरेपछि तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) तथा नेपाल सद्भावना पार्टी (नेसपा) का नेताहरूले छुट्टै भेला गर्दै संयोजक महतोविरुद्ध मोर्चाबन्दी गर्न जुटेका हुन्। यी दुवै पक्षले सोमबार छुट्टै भेलाको आयोजना पनि गरेका छन्।

भेलाको आयोजना राजपा उपाध्यक्ष वृषेशचन्द्र लालले गर्न लागेका हुन्। लालले भेलालार्ई ‘कार्यकता भेटघाट’ भएको बताएका छन्। उक्त भेला तमलोपाको पुरानो पार्टी कार्यलय बिजुली बजारमा हुने बताइएको छ।

पार्टी संयोजक पदबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलाई हटाएर महतोलाई चयन गर्नु तथा ठाकुरविरुद्ध अपाच्य प्रचार गर्नुप्रति लालले असहमति जनाएका थिए। पार्टीको महाधिवेशनसम्म ठाकुरलाई नै संयोजक मानेर अगाडि बढ्ने सहमति भएको तर त्यसमा हेरफेर गरेपछि उनले असन्तुष्टि जनाए ।

आउँदो ७, ८ र ९ वैशाखमा राजपा नेपालको एकता महाधिवेशन तोकिएको छ । पार्टी र नेता त्यसको तयारीमा जुटिसकेका छन् । लालले एकता महाधिवेशनसम्म ठाकुरलाई नै संयोजक मान्ने सहमति भए पनि त्यसको उल्लंघन भएको बताए।