मृत्युको कारण बन्दै मस्तिष्कघात, कसरी बच्ने ?

In स्वास्थ्य/जीवनशैली
१४ कार्तिक २०७५, बुधबार १६:४४

काठमाडाैं – ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो।

मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग/अङ्गमा कमजोरी देखिने अवस्थालाई जनाउँछ। मस्तिष्कघातले निम्त्याउने अपाङ्गताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा राजु पौडेल मस्तिष्कघातका बारेमा आमजनतामा चेतना अझै नरहेको र छिटोभन्दा छिटो अस्पतालमा पुर्याएमा बिरामीलाई यसबाट पर्ने दूरगामी असर धेरै कम गर्न सकिने बताउछन्।शारीरिक सन्तुलनमा अचानक गडबड, आँखा कमजोर, अनुहार बाङ्गिनु, हात वा गोडामा कमजोरी, बोली लरबरिनु लगायत यसका प्रारम्भिक लक्षण रहेको चिकित्सक बताउछन्। डा पौडेल भन्नछन् “यीमध्ये कुनै लक्षण देखिएमा चार घण्टाभित्र अस्पतालमा पुर्याउन सकिएमा मस्तिष्कघातले निम्त्याउने धेरै असरलाई न्यूनीकरण गर्न सकिन्छ।”

एक अध्ययन अनुसार नेपालमा मस्तिष्कघात भएकामध्ये ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोध (रक्तश्राव) का कारण भएको पाइएको थियो, तर विकसित देशमा रक्तश्रावबाट कमै मात्रमा मस्तिष्काघात हुने गर्दछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक दुई सेकेण्डमा एकजना मस्तिष्कघातबाट पीडित हुने र दश सेकेण्डमा एकको मृत्यु यही कारण हुने गर्दछ। हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गर्दछन्। विश्वमा साठी लाखको त यही कारण मृत्यु हुने गर्दछ। मृत्युको दोस्रो कारक तत्वका रुपमा यसलाई लिइन्छ। ६ मध्ये एकलाई मस्तिष्काघात हुनसक्ने अध्ययनले देखाएको छ।

मस्तिष्कघात हुन नदिन के गर्ने त ?
डा पौडेल मस्तिष्कघातको जोखिम न्यूनीकरण गर्न रक्तचाप, मधुमेह, मोटोपन, खानपानलगायतमा ध्यान दिनुपर्ने सुझाव दिन्छन्। उनी भन्छन्, “रक्तचाप नियन्त्रण, समयमै मधुमेहको पहिचान र उपचार, मोटोपना र तौल नियन्त्रण, शरीरको रगतमा भएको कोलेस्ट्रोलको मात्रा नियन्त्रण, धुमपान तथा मद्यपान सेवन नगर्ने, अनुशासित जीवनशैली र पद्धति अपनाउनुपर्छ।”

यस्तैगरी मस्तिष्कघात पछि हुने कमजोरी विश्वमा नै अपाड्गताको दोस्रो ठूलो कारणको रुपमा रहेको छ। यो धेरैजसो मानिसमा ६० वर्षपछि देखिए पनि एक चौथाइ मानिस भने सक्रिय जीवन बिताइरहेका समयमा हुने चिकित्सक बताउछन्। डा पौडेलका अनुसार चिकित्सकको परामर्शमा रगत पातलो गर्ने औषधि सेवन गरेमा मात्र ४० प्रतिशतभन्दा बढी मस्तिष्काघात लाई नियन्त्रण गर्न सकिन्छ। रासस

मस्तिष्कघात