
फिक्कल । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन सुरु गरेको छ।
इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई–४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो।
उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ। इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन्।
उक्त आयोजनाको परीक्षण उत्पादनसँगै अब सात दशमलव ८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ।
आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीका अनुसार विसं २०७३ चैत महीनादेखि निर्माण शुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महीनाअगावै विद्युत् उत्पादन गर्न शुरु गरेको र अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने भएको छ।
उक्त आयोजना निर्माणका लागि सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्च्युरी कमर्सियल बैंक र ज्योति विकास बैंकले रू एक अर्ब ५० लाख संयुक्त लगानी गरेकामा काम छिटै सम्पन्न भएकाले करीब रू सात लाख रकम बचत हुनसक्ने उक्त उक्त प्रालीका अध्यक्ष मोहन कार्कीले जानकारी दिए।