797 views 0 secs 0 comments

के हो त प्रम्पटर… ?

In Uncategorized
१२ आश्विन २०७५, शुक्रबार १३:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई गएराती सम्बोधन गरेका छन् ।
अमेरिकाको न्युर्योकमा जारी महासभामा सम्बोधन गर्दा एक नयाँ प्रयोग देखियो, जुन नेपालका कुनैपनि प्रधानमन्त्रीले यस अगाडि गरेका थिएनन् ।
ओलीले आफ्नो लिखित भाषण टेलि प्रम्पटरको प्रयोग गरेर बाचन गरे, जसले गर्दा उनको अंग्रेजी प्रस्तुती दमदार देखियो ।
युएन महासभालाई सम्बोधन गर्दा ओलीले लिखित अंग्रेजी भाषण वाचन गरेका थिए । तर उनले घोप्टो मुन्टो लगाएर कागजका पाना पल्टाउँदै भाषण गरेको देखिएन । उनी दायाँ र वायाँ तर्फ मुन्टो घुमाउँदै प्रम्पटरमा आँखा गाढेर भाषण दिएका थिए । हेर्नलाई ओलीले खरर अंग्रेजीमा भाषण दिए भन्ने पर्यो ।
यस अगाडि यही मञ्चमा नेपालका प्रधानमन्त्रीहरूले घोप्टे मुन्टो लगाएर लिखित भाषण पढेका देख्दा निकै अड लाग्थ्यो । प्रबिधीमा अगाडि ठानिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत पाना पल्टाएर भाषण पढेका थिए । तर यसपटक प्रम्पटरका अक्षर पढेका ओली युएन महासभामा तुलनात्मक सानदार अंग्रेजी भाषण दिने वक्ताको रूपमा देखिए । के हो त प्रम्पटर ?
प्रम्टरको माध्यमबाट वक्ताले दर्शकसँग आँखा मिलाएर लिखित भाषण दिन सक्छन् । घोप्टो मुन्टो लगाएर भाषण पढ्नुपर्ने अवस्थालाई प्रम्पटरको प्रयोगले सहज गरिदिन्छ । कागजमा भाषण उतारेर पढ्ने हैरानीको समाधान हो-प्रम्पटर । जसले नेताको भाषणकलामा अझ निखार ल्याउँछ । जुनसुकै भाषामा पनि सहजै भाषण गरेको जस्तो देखाउन प्रम्पटर सहयोगी हुन्छ ।
प्रम्पटर मुख्यतः टेलिभिजन प्रस्तोताका लागि प्रयोगमा आउँछ । प्रस्तोताले क्यामेरासँग आँखाको भाका मिलाएर समाचार वा लिखित स्क्रिप्ट पढेको देखाउन यसको प्रयोग हुन्छ । विदेशतिर गायक वा कलाकारहरूले प्रस्तुतीका समय आफ्ना लाइनहरू नछुटुन् भनेर पनि यसको प्रयोग गर्ने क्रम बढ्दो छ ।
विश्वका प्रभावशाली देशका प्रधानमन्त्री वा ठूला नेताहरूले प्रम्पटरको प्रयोग गरेका धेरै उदाहरण छन् । वक्ता उभिने ड्यासको दायाँ र वायाँतर्फ सानो स्ट्याण्डको टुप्पोमा प्रम्पटर राखिएको हुन्छ । एनाको काम गर्ने अर्धपारदर्शी त्यही शिसाको पाटी अर्थात प्रम्पटरमा वक्ताले पढ्ने अक्षर देख्छन् र शिलशिला मिलाएर भाषण गरेको शैलीमा त्यहाँका अक्षरहरू वक्ताले पढ्छन् । वक्ताले पढ्ने रफ्तार र बीचमा जोड्ने अन्य सन्दर्भसमेतलाई ध्यानमा राख्दै सहयोगीले पढ्ने लाइनहरूको गति नियन्त्रण गरेर प्रम्पटरमा पढ्ने लाइनहरू देखाउन मद्दत गर्छन् ।
दर्शकलाई लिखित भाषण पढेको जस्तो नपार्ने क्षमता वक्ता वा नेताले देखाउने हो । जस्तो कि मोदीले जनकपुरमा भाषण गर्दा प्रम्पटर प्रयोग गरेका थिए ।
राजनीतिक आग्रहको पाटोलाई बिर्सने हो भने मोदीको भाषण लयात्मक र अन्तरा मिलेको निकै कर्णप्रिय थियो । मोदी र अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामा प्रम्पटर प्रयोग गरेर आफ्नो भाषण कलाबाट चर्चित बनेका नेतामा कहलिन्छन् ।
नेपाली जनतामाझ त्यसै पनि भाषण कलामा कहलिएका प्रधानमन्त्री ओलीले अंग्रेजी भाषणलाई पनि प्रभावकारी बनाउने तर्फ केन्द्रित भएका देखिन्छन् । यस अगाडि ओलीले नेपामा एकाध कार्यक्रममा प्रम्पटरको प्रयोग गरेका थिए ।