542 views 0 secs 0 comments

रुकुमको बाँकेकोटमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, तीन घाईते

In समाज
२२ भाद्र २०७५, शुक्रबार १५:३८

रोकिराखेको ट्याक्टर आफैं गुडेर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन् ।
बिहिबार राति मुसीकोट नगरपालिका–४ सोलावाङबाट गाराघाट जाँदै गरेको ट्याक्टर स्थानीय पानाखोला नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा बाँफिकोट गाउँपालिका–९ घर भइ मुसिकोट नगरपालिका–१ गाराघाट बस्ने २८ वर्षीय धनमाया देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा घाइते देवकोटाको उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटनामा मृतककी छोरी १३ वर्षीय मुना देवकोटा, मुसिकोट नगरपालिका–१३, की २४ वर्षीया कमला केसी र बाँफिकोट–९ की १६ वर्षीया ललिता ओली घाइते छन् ।
घाइते तीनै जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मुना र ललिता गम्भीर रहेको जनाइएको छ ।
रोकिराखेको ट्याक्टर आफैं गुडेर २० मिटर तल पुगेको प्रत्यक्षदर्शीले जनाएका छन् । ट्याक्टर चालक स्थानीय पानाखोलामा आएको पानीको सतह हेर्न गएका बेला ट्याक्टर आफैं गुडेको बताईएको छ । ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।