पुस २, २०७४-अनमोल केसीका कारण पनि ‘कृ’ यस वर्षको बहुप्रतीक्षित फिल्म बनेको छ । हालका सर्वाधिक स्टारभ्यालु बोकेका अनमोलको ‘गाजलु’ पछि झन्डै दुई वर्षको अन्तरालमा दर्शकसामु आउन लागेका हुन् । माघ २६ देखि प्रदर्शनमा आउन लागेको ‘कृ’ मा अनमोलको जोडीको रूपमा अदिति बुढाथोकीले डेब्यु गर्दै छिन् ।
सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने फिल्ममा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, सुदाम सिके, अमिती गिरी, टीकाभक्त जिरेल, आर्जेस रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।रिभेन्ज लभस्टोरीमा आधारित उक्त फिल्ममा अनमोल यसअघिका फिल्ममा देखिँदै आएको चकलेटी लुक्सभन्दा भिन्न देखिएका छन् । पूर्णत: एक्सन शैलीको ट्रेलरमा अनमोल रफटफ लुक्समा देखिएका छन् । चरित्रका लागि उनले ज्यान बनाउनेदेखि दाह्री कपाल पाल्नेसम्म गरेका थिए । अनमोलले दर्शककै चाहनाअनुरूप गेटअप र भूमिकामा परिवर्तन गर्न खोजेको बताउँदै आफ्नो मिहिनेत सार्थक हुने विश्वास व्यक्त गरे । साथै, को–एक्टर अदिति पनि राम्रो कलाकार भएको तारिफ गर्दै भविष्य उज्ज्वल देखेको टिप्पणी गरे । अनमोलले यति बेला आफूलाई फिल्म खेल्न ५० लाख रुपैयाँसम्मका प्रस्ताव आउने गरेको स्वीकार गर्दै थपे, ‘तर म कहिले पनि पैसाका लागि काम गर्दिनँ । स्क्रिप्ट चित्त बुझेन भने जति नै दिए पनि खेल्ने छैन । म आफ्ना दर्शक, फयानलाई निराश पार्न चाहन्नँ ।’ कार्यक्रम प्रस्तोता नरेश भट्टराईले मेगास्टार भनी सम्बोधन गरिएको प्रति अनमोलले भने, ‘म त्यसको लागि आफूलाई अझै लायक सम्झिन्नँ । म त अझै बिगिनर्स नै हो । धेरै कुरा गर्नुछ ।’
फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्वन्द्व निर्देशन, प्रदीप भारद्वाज र आशिष रेग्मीको पटकथा तथा संवाद, अल्मोडा उप्रेती राना र विशेष पाण्डेको संगीत, रेनशा वान्तबा राईको कोरियोग्राफी रहेको छ । निर्माता गिरीले प्राविधिक रूपमा एक उचाइ निर्माण गर्ने फिल्म बनाएको टिप्पणी गरिरहँदा अर्का निर्माता केसीले भने ‘कृ’ विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले बनाइएको बताए । निर्देशक पौडेलले भने संस्कृत शब्द ‘कृ’ ले बदलाको अर्थ दिने जानकारी दिँदै आफूले सबै अर्थबाट उत्कृष्ट बनाउने प्रयास गरिएको बताए । ट्रेलर रिलिजको २४ घण्टा नपुग्दै साढे ६ लाख भ्युजसहित युटयुबको नेपाल ट्रेन्डिङको एक नम्बरमा आएको छ ।
http://kantipur.ekantipur.com/news/2017-12-17/20171217081840.html