मंसिर २६, २०७४-पछिल्लो समय सुनको आयात ह्वातै बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सुनको आयात ५२ प्रतिशतको उच्च दरले बढेको हो ।
गत आर्थिक वर्ष पहिलो ३ महिनामा ४ अर्ब ९ करोड ७३ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो भने यस वर्ष ७ अर्ब ५६ करोड ४६ लाख रुपैयाँको आयात भएको छ । जसअनुसार मासिक २ अर्ब ५२ करोड १५ लाख रुपैयाँको आयात भएको देखिन्छ । पछिल्लो दिनमा सुनको माग बढेकाले आयात पनि सोहीअनुसार बढेको व्यवसायीको दाबी छ ।
‘भूकम्पपश्चात् नाकाबन्दीले आम उपभोक्ता पीडित थिए । जसले गर्दा सुनको बिक्री उत्साहजनक थिएन,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले भने, ‘अहिले अर्थतन्त्रमा सुधार देखिएको छ । जसले गर्दा आयात बढेको हो ।’ संघका अनुसार हाल तस्करीको सुन केही निरुत्साहित भएको छ । सरकारले वैदेशिक रोजगारबाट घर फर्किने क्रममा ५० ग्राम सुन आयात सुविधा बन्द गरेकाले पनि वैधानिक आयात बढेको उनीहरूको दाबी छ । ‘सुन आयात वैधानिक रूपमा भएको छ,’ उनले भने ।
‘५० ग्रामसम्मको आयात प्रावधान हुँदा आयातको मात्रा कम देखिन्थ्यो । अहिले सुविधा बन्द हुँदा आयात बढेको हो,’ उनले भने, ‘सुन वैधानिक बाटोबाट आयात भइरहेको छ । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले पनि तस्करी घटेकाले आयात बढेको बताए । ‘तस्करी प्रोत्साहन हुँदा राजस्व घट्छ । अहिले वैधानिकबाट आयात बढेको छ,’ उनले भने । उनका अनुसार राष्ट्र बैंकले कोटा बढाएर २० किलो पुर्याएकाले पनि आयात बढेको हो ।
‘गत वर्ष सुनको दैनिक कोटा १५ किलो मात्रै थियो । फागुनबाट राष्ट्र बैंकले कोटा बढाएर २० किलो पुर्याएको छ,’ उनले भने, ‘सोहीअनुसार आयात बढेको छ ।’ बैंकले आयातको कोटा वृद्धि
गरेपछि सुन धमाधम बिक्री भइरहेको उनले बताए ।
‘दैनिक १५ किलो हुँदा मागअनुसार पूर्ति थिएन । माग धान्न व्यवसायीहरूले अवैध रूपमा आयात भएको सुन बिक्री गर्न बाध्य थिए,’ उनले भने । माग र पूर्तिलाई सन्तुलन गर्न र तस्करी पूर्ण रूपमा निरुत्साहित गर्न सुनको दैनिक कोटा ३५ देखि ४० किलोसम्म बनाउनुपर्ने व्यवसायीहरू बताउँछन् । महासंघका अनुसार हाल दैनिक माग ३५ देखि ४० किलो छ । बिहेको सिजनमा माग थप बढ्छ । त्यसलाई पूर्ति गर्न कोटा बढाउनुपर्ने शाक्यले बताए । हाल वाणिज्य बैंकहरूले सुन किलोमा आयात गरी सोहीअनुसार बिक्री गर्छन् ।
बैंकहरूले दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, स्विटजरल्यान्डलगायतका मुलुकबाट सुन आयात गर्दै आएका छन् । आयातित सुन सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी कला व्यवसायी संघ र सुनचाँदी रत्न तथा आभूषण महासंघको सिफिरिसमा बैंकले गहना व्यवसायीलाई वितरण गर्दै आएका छन् । सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । कार्यविधिअनुसार बैंकबाट व्यवसायीले दिनको २० किलो मात्रै किन्न पाउँछन् । चाडबाड र सिजनमा भने मागअनुसार कोटा वृद्धि हुन्छ । सुनका गहना क्यासका रूपमा लिइएकाले पनि यसतर्फ आकर्षण बढेको व्यवसायीहरू बताउँछन् ।
‘खरिद भएका गहनाहरू अप्ठयारो अवस्थामा तत्काल बिक्री गरेर नगद लिन सकिन्छ,’ उनले भने, ‘सुन तत्काल बिक्ने हुँदा ग्राहकको आकर्षण छ ।’ सुनको माग बढेपछि व्यवसायीले दैनिक कोटा बढाउन राष्ट्र बैंकलाई आग्रह गरेको जनाएको छ । व्यवसायीको मागप्रति राष्ट्र बैंक पनि सकारात्मक रहेको महासंघको दाबी छ । ‘कोटा बढाउन राष्ट्र बैंकलाई पहल गरेका छौं । छलफलको क्रममा दैनिक कोटा ३० किलो पुर्याउन सकारात्मक जवाफ पाएका छौं,’ शाक्यले भने ।
चाँदी आयात ७.१ प्रतिशत घटयो
चाँदीको आयात ७.१ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ४३ करोड २८ लाख रुपैयाँको आयात भएको छ । अघिल्लो वर्षको ३ महिनामा १ अर्ब ५४ करोड १९ लाख रुपैयाँको आयात भएको थियो । चाँदी मुख्यतया हस्तकलाका सामान बनाउन र गहनाका रूपमा प्रयोग हुँदै आएको छ ।
http://kantipur.ekantipur.com/news/2017-12-12/20171212072245.html