स्याटलाइट अवार्डमा ‘सेतो सूर्य’

In मनोरञ्जन
१६ मंसिर २०७४, शनिबार १४:०२

मंसिर १६, २०७४-इन्टरनेसनल प्रेस एकेडेमीले सञ्चालन गर्दै आएको स्याटलाइट अवार्डस्मा नेपाली फिल्म ‘सेतो सूर्य’ पनि मनोनयनमा परेको छ । विभिन्न देशका छापा, टीभी, रेडियो, अनलाइनका रंग पत्रकारहरूको ग्लोबल संगठनका रूपमा रहेको एकेडेमीले दीपक रौनियार निर्देशित ‘सेतो सूर्य’ लाई अन्तर्राष्ट्रिय फिल्मतर्फको विधामा मनोनीत गरेको हो । उक्त विधामा ‘सेतो सूर्य’ ले सात देशका फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ ।

२२ औं संस्करणको उक्त अवार्डमा ३२ विधामा मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड माघ २७ मा अमेरिकाको लस एन्जल्समा वितरण गरिनेछ । गतवर्ष मंसिर २४ मा सार्वजनिक प्रदर्शन भएको निर्देशक रौनियार लिखित फिल्म ठीक एक वर्षपछि मंसिर २२ देखि पुन: काठमाडौंमा प्रदर्शन थालिने निर्माण पक्षले जनाएको छ । सशस्त्र द्वन्द्वकालको पृष्ठभूमिमा एक परिवारभित्रको घटनालाई विम्बात्मक रूपमा दर्साइएको फिल्ममा दयाहाङ राई र रवीन्द्रसिंह बानियाँले दाजुभाइका रूपमा मुख्य भूमिका निर्वाह गरेका छन् । राईले माओवादी छापामार र सिंहले सरकारी सुरक्षाकर्मीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा आशा मगराती, दीपक क्षेत्री, देशभक्त खनाललगायतको अभिनय रहेको छ । उक्त फिल्मले यसै वर्ष नेपालको प्रतिनिधित्व गर्दै ओस्कार अवार्डको विदेशभाषी फिल्मको विधामा प्रतिस्पर्धा गरेको हो ।

http://kantipur.ekantipur.com/news/2017-12-02/20171202080456.html