तौलिहवा : कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) प्रतिनिधिसभा १ प्रदेसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ। बम प्रहारबाट जस्तापातामा प्वाल परेको छ।
वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकमा अज्ञात समूहले दुई पटक सम्म बम विष्फोट गराएको स्थानीयले बताएका छन्। घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प्वाल परेको उम्मेदवारका दाजु शिवगुलाम कलवारले बताए।
राथि करिब १ बजेको समयमा तीन चार जनाको समूहमा आएका अज्ञात समूहले घर तोडफोड गर्न थालेपछि आफूहरुले रोक्न खोज्दा बम प्रहार गरेको कलवारले दाबी गरे।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक प्रल्हाद अधिकारले उम्मेदवार घरमा विस्फोट गराइएको बम तर्साउनका लागि हुन सक्ने बताए। आफूहरुले उक्त विषयमा अनुसन्धान गरिरहेको उनले जनाए। उम्मेदवार कलवारलाई संघीय समाजवादी फोरम नेपालले प्रदेसभामा सघाएको छ।
शुक्रबार दिउँसो मात्र शिवराज नगरपालिका ९ भगवानपुरमा नयाँ शक्ति नेपाल पार्टीका प्रतिनिधिसभा ३ का उम्मेदवारलाई लक्षित गरि रिमोट बम प्रहार भएको थियो।