10 views 4 secs 0 comments

केएमसी कम्प्युटर क्लबले आयोजना गर्दैछ ई-स्पोर्टस् प्रतियोगिता

In देश, समाज
१२ मंसिर २०८०, मंगलवार १६:३३

काठमाडौँ । पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गएको खेल हो, ‘ई-स्पोर्टस्।’ थुप्रै नेपाली खेलाडीले ‘ई-स्पोर्टस’ खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन पनि गरिसकेका छन् ।

हालै चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा समेत यो खेललाई समावेश गरिएको थियो । खासगरी युवाहरुमाझ यो खेलको लोकप्रियता आकासिँदो छ । यही तथ्यलाई ध्यानमा राखी काठमाडौँ मोडेल सेकेन्डरी स्कुल (केएमसी) का विद्यार्थीहरुले पनि ‘ई-स्पोर्टस’ प्रतियोगिता आयोजना गर्दैछन् ।

केएमसीको ‘कम्प्युटर क्लब’ मा आबद्ध विद्यार्थीहरुले ‘ई-स्पोर्टस’ प्रतियोगिता आयोजना गर्न लागेका हुन् । ‘पछिल्लो समय नेपाली युवामाझ ई-स्पोर्टस्खेल निकै लोकप्रिय बन्दै गएको छ । खासगरी कम्प्युटर प्रविधिसँग जोडिएको यो खेल अन्तर्राष्ट्रिय स्तरमा पनि उत्तिकै लोकप्रिय छ । त्यसैले युवावर्गको रुचिलाई ध्यानमा राखी हामीले ई-स्पोर्टस्प्रतियोगिता आयोजना गर्न लागेका हौँ,’ केएमसी कम्प्युटर क्लबका सचिव सहमत दाहाल भन्छन् ।

उनको बुझाइमा नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक भित्राउने पर्याप्त सम्भावना बोकेको खेल पनि हो, ई-स्पोर्टस्। ‘अहिले पनि कतिपय अभिभावक आफ्ना छोराछोरीले यो खेल खेलेको खासै रुचाउनु हुन्न । तर यथार्थ के हो भने, विज्ञान र प्रविधिले निकै ठुलो फड्को मारेको आजको युगमा ई-स्पोर्टस्खेल अन्तर्राष्ट्रिय जगतमा देशको गौरव बढाउने प्रभावकारी माध्यम हो । भविष्यमा यो खेलमा लाग्ने खेलाडीले गतिलो नाम र दाम पनि आर्जन गर्न सक्छन्,’ सहमत भन्छन् ।

आगामी आगामी आइतबार सुरु हुने ई-स्पोर्टस्प्रतियोगिता सात दिनसम्म चल्नेछ । प्रतियोगितामा सहभागिता जनाउन चाहनेहरूका लागि रजिस्ट्रेसन पनि खुला भइसकेको जानकारी सहमतले दिए । केएमसीमा दिप्सन शर्माको अध्यक्षतामा १० सदस्यीय कम्प्युटर क्लब गठन गरिएको छ । सहमतका अनुसार, क्लबले विभिन्न रचनात्मक कार्य र प्रविधिसँग जोडिएका खेलकुद गतिविधि पनि आयोजना गर्दै आएको छ ।