किन कमजोर बन्यो थ्रीस्टार ?

In खेलकुद
२० पुष २०७५, शुक्रबार ११:४४

काठमाडौँ — थ्रीस्टार २०७४ सालको घरेलु फुटबलमा सर्वाधिक सफल क्लब हो । उसले नकआउट फुटबलमा पाँच उपाधि जितेको थियो । वैशाख–जेठ २०७५ मा दुई उपाधि पनि थप्यो ।
त्यसैको सम्मानमा ललितपुर महानगरपालिकाले थ्रीस्टारलाई ३२ लाख रुपैयाँ पुरस्कार पनि दियो । उसले लिगलाई केन्द्रित गर्दै साउनदेखि चैतसम्मका लागि एक करोड ५० लाखको बजेट बनायो । बजेट र खेलाडीको कौशलको आधारमा थ्रीस्टारलाई पाँच वर्षपछि सुचारु भएको लिगमा उपाधि दाबेदार मानिएको थियो । तर नतिजा त्यस्तो भएन ।

थ्रीस्टार जारी लिगमा च्याम्पियन भइसकेको मनाङ मस्र्याङदीभन्दा १३ अंक पछाडि छ । पछिल्लो खेलमा उसलाई संकटाले हराएर ५ अंकको अग्रता लिँदै दोस्रो स्थान पनि कब्जा गर्यो, जुन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटाको ३३ वर्षयताकै सबैभन्दा ठूलो उपलब्धि हो । थ्रीस्टारले यो लिगको अन्तिम खेलमा मंगलबार हिमालयन शेपाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । त्यसमा पनि पराजित भएमा थ्रीस्टारले तेस्रो स्थान पनि गुमाउन सक्छ ।

थ्रीस्टार घरेलु फुटबलका लोकप्रिय क्लब हो । आक्रामक र मन जित्ने खेल हो उसको पहिचान । तर, यसपालि थ्रीस्टारको त्यस्तो परम्पारगत प्रदर्शन एन्फा कम्प्लेक्स सातदोबाटो र हल्चोक मैदानमा देखिएको छैन । हुन त दुई खेलअघि नै उपाधि पक्का गरेको मनाङको प्रदर्शन पनि मन लोभ्याउने खाले छैन । तैपनि उसले खेल जितिरहेको छ । २०५४, ०६१ र ०६९ सालको च्याम्पियन थ्रीस्टारले भने नतिजा पनि गुमाइरहेको छ ।

‘लामो अवधि (५ वर्ष) पछि लिग भएर होला खेलाडी लयमा फर्किएनन्,’ थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘सधंै जित्छ नै भन्ने छैन । लक्ष्यअनुसार हुन सकेन । हामीले समर्थकले सोचेजस्तो खेल प्रदर्शन गर्न सकेनौं ।’ चौथोपल्ट ए डिभिजन लिग च्याम्पियन बन्ने लक्ष्य अपुरै हुने पक्का भइसकेको अवस्थामा उनले भने, ‘दोस्रो स्थानमा रहने मौका थियो । तर संकटालाई पराजित गर्न सकेनौं । शीर्ष तीनमा रहनु पनि त्यस्तो खराब होइन, अब त्यसमा कोसिस गर्नेछौं ।’

केसीकै नेतृत्वमा थ्रीस्टारले गत वर्ष मदन भण्डारी इटहरी गोल्डकप, बुढासुब्बा, तिलोत्तमा, मदन भण्डारी (बुटवल), विराट गोल्डकप तथा यस वर्ष (२०७५) को सुरुमै माईभ्याली र उदयपुर गोल्डकपको ट्रफी कब्जा गरेको थियो । त्यसैको आधारमा थ्रीस्टारलाई लिगमा उपाधि दाबेदार मानिएको थियो ।

लिगका लागि थ्रीस्टारले आठ महिनाअघि नै तयारी पनि थालेको थियो । लिग र नकआउट बिल्कुलै भिन्न किसिमका प्रतियोगिता हुन् । तर थ्रीस्टारले नकआउटमा सफलता दिलाएका खेलाडीलाई नै लिगका लागि राख्यो । केही खेलाडीमात्र फेरिए । नतिजा किन आएन त ?

‘मोफसलका प्रतियोगितामा राम्रो नतिजा आएपछि त्यसै टिमलाई जोड दियौं । बढी विश्वास गरियो । गल्ती त्यहीं भयो । हामी भएका खेलाडीलाई जोगाउनतिर लाग्यौं । अरुले लिगका लागि खेलाडी थपे । हामी त्यसैमा चुक्यौं,’ प्रशिक्षक केसीले प्रस्टयाए । राष्ट्रिय टोलीका सेन्टर–ब्याक अनन्त तामाङले थ्रीस्टारसँग सम्झौता बाँकी छँदै मनाङमा हस्ताक्षर गरे । स्थानान्तरणको नियम उल्लंघन गरेपछि उनी न मनाङ जान पाए न त थ्रीस्टारमा खेल्न नै ।

थ्रीस्टारको सेन्टर–ब्याकमा नियमित रूपमा खेल्नेमा पिटर सेगुनमात्र रहे । पहिलो खेलमा उनीसँगै विष्णु सुनुवार पनि मैदानमा थिए । तर कप्तान विक्रम लामा चोटमुक्त भएर फर्केपछि यी मिडफिल्डरलाई पछाडि सार्दै विष्णुको स्थानमा नियमति खेलाइयो ।

‘विक्रमलाई मिडफिल्डका लागि पूरा तयार नभएपछि आवश्यकताअनुसार डिफेन्समा खेलाइएको हो । उनले शतप्रतिशत खेल्न नसके पनि सक्दो खेले,’ प्रशिक्षक केसीले भने । उनको टिममा अनन्तको अभाव प्रस्टै देखिन्थ्यो ।

थ्रीस्टारमा २६ खेलाडी छन् । त्यसमा तीन विदेशी– पिटर सेगुन, अजायी मार्टिन्स र एबाङ अल्बर्ट । उनीहरूको प्रदर्शन फितलो रह्यो । लिगमा एक गोल गरेका फरवार्ड मार्टिन्स घाइते भएपछि गाह्रो भएको प्रशिक्षक केसीले बताए । भेट्रान फरवार्ड अनिल गुरुङ पनि प्रभावशाली देखिएनन् ।

सुरुमा छरिता देखिएका फरवार्ड रन्जन विष्टले ५ गोल गरे । थ्रीस्टारका फरवार्डभन्दा बढी डिफेन्डर रन्जित धिमालले गोल गरेका छन् । उनले ७ गोल गरिसके । ५ पेनाल्टी, १ पेनाल्टीको रिबाउन्ड र १ फ्रि–किकमा । तीन गोल गरे पनि नीराजन खड्का मिडफिल्डमा छाउन सकेनन् । उनलाई पुलिसविरुद्धको पेनाल्टीमा भने अर्पण कार्कीले असफल पारिदिए ।

साफ च्याम्पियनसिप २०१८ मा प्रभावशाली देखिएका राष्ट्रिय खेलाडी सुनील बलको मिडफिल्डमा उस्तै प्रभाव देखिएन । न त गोलकिपर एलन न्यौपानेको प्रदर्शन नै उत्कृष्ट रह्यो । मिडफिल्डमा रुपेश केसीलाई मिक्चेन तामाङले विस्थापित गरे । डिफेन्डर अशोक खवास र विंगर सुशील राईले पनि अवसर पाए । अर्का डिफेन्डर जीवन गुरुङ र स्ट्राइकर सुशान्त श्रेष्ठलाई पनि थोरै मौका दिइयो । तर उनीहरू परिपक्व भइसकेका छैनन् ।

सुरुका दुई खेलमा ७ गोल गरेको थ्रीस्टार तेस्रो चरणमा मनाङविरुद्ध २–१ ले हारेपछि सुस्तायो । एनआरटी, सरस्वती, मछिन्द्र, जावलाखेलजस्ता कमजोर मानिएका टिमविरुद्ध ३ अंक जोड्न पनि निकै संघर्ष गर्नुपर्यो । थ्रीस्टारले पुलिस र संकटाविरुद्ध पनि हार बेहोर्नुपर्यो ।

ललितपुर डर्बीमा च्यासलविरुद्ध पनि अंक बाँड्न बाध्य भएको उसले चार खेलयता दुई अंकमात्र जोडेको छ ।