
काठमाडौं – नेपालका फिल्म हलमा शुक्रबारबाट दुई फिल्म ‘प्रसाद’ र ‘झिल्के’ रिलिज हुँदैछन्। दर्शकले फिल्म ‘प्रसाद’मा निसन्तान दम्पत्तिको कथा र ‘झिल्के’मा प्रेम जोडीको प्रेमकथा हेर्न पाउनेछन्।
निर्देशक दिनेश राउतले निर्देशन गरेको फिल्म ‘प्रसाद’मा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ। फिल्ममा विपिन र नम्रताले निसन्तान दम्पत्तिको भूमिकामा देखिएका छन्।
सुवास थापाको लगानी रहेको फिल्ममा रंग पत्रकार सुशिल पौडेलको लेखन, राजेश श्रेष्ठको छायांकन, सुवास भुषाल र कोशिष क्षेत्रीको संगीत रहेको छ। फिल्मले गत बुधबार साँझ राजधानीमा प्रिमियर शो गरेको थियो। फिल्म हेर्ने अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका थिए।
त्यस्तै लक्ष्मण योञ्जन तामाङको कथा तथा निर्देशक रहेको फिल्म ‘झिल्के’मा पुष्कर गौतम, झरना थापा, राजमाझी दाहाल, राजकुमार र राजिवलगायतका कलाकारहरूको अभिनय रहेको छ। भीम बस्नेत, कुन्दन राई, देवेश राई र गणेश रिजालले निर्माण गरेको फिल्ममा सुमन तामाङको छायांकन छ।