853 views 0 secs 0 comments

गुण नियन्त्रण विभागको कामप्रति राज्यमन्त्रीको असन्तुष्टि

In समाज
१८ मंसिर २०७५, मंगलवार १३:३९

काठमाडौं। कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम कार्वाहीप्रति असन्तुष्टि जनाएकी छन्। राज्यमन्त्री चौधरीले खाद्य स्वच्छता अभियान समेत संचालन गर्न नसकेको उल्लेख गर्दै सो विभागको कामकार्वाहीप्रति असन्तुष्टि जनाएकी हुन्।

मंगलबार काठमाडौंमा आयोजित विभागको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव स्वास्थ्यमा हानी पु¥याउने खाद्य बस्तु बिक्री वितरण गर्नेमाथि किन कार्वाही नगरेको भनि विभागका पदाधिकारीलाई प्रश्न गरेकी छन्।। विभागले जनताको दैनिक उपभोग्य दुध, पानीलगायतका बस्तु स्वच्छ बनाउने आफ्नो अधिकारलाई समेत प्रयोग गर्न नसकेकोमा राज्यमन्त्री चौधरीको आक्रोश छ।

राज्यमन्त्री चौधरीले विभागले मन्त्रालयको दवावमा मात्रै काम गर्ने गरेको भन्दै आपत्ति जनाइन्। कार्यक्रममा बोल्दै विभागका महानिर्देशक संजीवकुमार कर्णले भने राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोग शाला स्थापना गरेर ठूलो प्रगति हासिल गरेको दावी गरेका थिए।

उनले विभागले ३२ वटा नयाँ कार्यालय खोलेको, कर्मचारीहरुको व्यवस्थापन गरी उनीहरुको तलव, भत्ताको उचित व्यवस्था गरेको लगायतका प्रथम चौमासिक कामको प्रगति विवरण पनि सुनाएका थिए।

विभागले चालू आर्थिक वर्षको बाँकि ८ महिनामा लक्ष्य अनुसार काम गर्ने प्रतिवद्धता पनि जनाएको छ। प्रथम चौमासिकमा भने नयाँ कार्यालय खोल्ने र त्यहाँ कर्मचारी पदस्थापन गर्ने काममा ध्यान दिनु परेकाले अन्य काम गर्न नसकेको विभागका महानिर्देशक कर्णको स्पष्टिकरण छ।