601 views 0 secs 0 comments

मसानघाटमा बिहे गरेर अनौठो कीर्तिमान

In विश्व, समाज
१३ मंसिर २०७४, बुधबार १४:३१

बिहे जिवनको सबैभन्दा महत्वपूर्ण पल हो । त्यसैले यो क्षणलाई मानिसहरु विशेष बनाउन चाहन्छन् । यसका लागि अनौठो तरिकाले बिहे गर्ने गर्छन् कतिपय जोडीहरु ।

भारतको गुजरातका एक जोडीले यस्तो तरिकाले बिहे गरेका छन् कि सुन्दैमा झसंग होइन्छ । बेहुला घनश्याम र बेहुली पारुलले मसानघाटमा गएर बिहे गरेका छन् ।

आर्यघाटमा चितास्थलमा बालिएको अग्नीमा फेर लगाएर उनीहरुले विवाह गरेका छन् ।

भारतका चर्चित हिन्दू दार्शनिक मोरारी बापूको प्रवचनबाट प्रेरित यस दम्पत्तिले गुजरातस्थित मोरारीको पैतृक गाउँ तलगाजरडाको आर्यघाटलाई आफ्नो विवाहका लागि छनोट गरेको थियो ।

मोरारी बापुले मसानघाट अर्थात् आर्यघाटका विषयमा जनमानसमा रहेको भ्रम हट्नुपर्ने बताउँदै आएका छन् । मसानघाट अशुभ होइन, पवित्र स्थल हो । त्यसैले त्यहाँ जन्मदिन तथा विवाह समारोह समेतको आयोजना हुनुपर्छ भन्ने उनको तर्क रहँदै आएको छ । बापूको सोही भनाईलाई आत्मसात गर्दै घनश्याम र पारुलले मसानघाटमा गएर बिहे गरे ।

बिहे समारोहमा नातागोता तथा परिवारजनको बाक्लो उपस्थिति हुनुका साथै बाजागाजाको टोली समेत थियो ।