तीन अर्ब ८ करोडको हकप्रद शेयर आउँदै…

In आर्थिक
२२ मंसिर २०७८, बुधबार १३:१०

हकप्रद शेयर निष्काशनका लागि अवरुद्ध प्रक्रिया खुला भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा हकप्रद शेयर, साधारण शेयर लगायतको निष्काशन प्रक्रिया अवरुद्ध भएको थियो । सञ्चालक समितिबाट निर्णय गराएर हकप्रद निष्काशन गर्न मिल्ने कानून भएकाले बोर्डले हप्रकद निष्काशन भने गर्न थालेको छ । साधारण शेयर (आईपीओ) भने अझै निष्काशन हुन सकेको छैन ।
बोर्डकी नायव प्रमुख कार्यकारी अधिकृत दीपा दाहालले हकप्रद निष्काशन भइरहेको र आईपीओ पनि अब निष्काशन खुला गर्ने तयारी भएको बताइन् ।
१६ भदौमा तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई भित्री सूचनाको आधारमा कारोबार भएको अभियोगमा सरकारले निलम्बन गरी छानवीन शुरु गरेको थियो । छानवीन समितिको सिफारिसमा बोर्ड अध्यक्षलाई बर्खास्त गरी नयाँ अध्यक्ष्ँ नियुक्ति प्रक्रिया थालेको सरकारले अझै नियुक्त गर्न भने सकेको छैन ।
चाडै नयाँ अध्यक्ष आइहाल्ने भन्दै बोर्डले प्रक्रिया अघि बढाएको थिएन । बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा छनोट समिति बनाए पनि अहिले छनोटको काम रोकिएको छ ।
अध्यक्ष नियुक्तिका लागि गरिएका सबै प्रक्रिया रद्द गरी पुनः अर्को समिति बनाएर काम अघि बढाउने सरकारी तयारी छ । नयाँ अध्यक्ष नियुक्ति गर्न ढिलाइ भएपछि बोर्डले सञ्चालक समितिबाट निर्णय गराएर शेयर निष्काशनको काम अघि बढाउने तयारी गरेको हो ।
अहिले बोर्डमा ३ अर्ब ८ करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशनका लागि पाइपलाइन्मा छन् । हकप्रद शेयर निष्काशनका लागि अपी पावर कम्पनी तयारी अवस्थामा छ । १ करोड ८ लाख ८० हजार कित्ता अर्थात १ अर्ब ८ करोड ६० लाख रुपैयाँको हकप्रद निष्काशनका लागि अनुमतिको पर्खाइमा छ ।
उता नेपाल फाइनान्सले पनि ३४ लाख ५४ हजार ४७४ कित्ता अर्थात ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रुपैयाँको हकप्रद निष्काशनका लागि अनुमतिको पर्खाइमा छ ।