
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० घर भइ ललितपुर जिल्ला सानागाउँ बस्दै आएकी ५१ वर्षीया दुर्गा शाही सापकोटा रहेकी छिन् । उच्च अदालत पाटनले उनीविरुद्ध मंसिर १६ गते बैंकिङ कसुर मुद्दामा सात दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका सापकोटालाई ललितपुर सानागाउँमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बुधबार नियन्त्रणमा लिएको हो । आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै सापकोटाले २०७५ साल कात्तिक ६ गते रकम भुक्तानीका लागि हिमालयन बैंक लिमिटेडको चेक काटेर दिएकी थिइन् ।