
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित सत्ता गठबन्धनले अध्यादेशको मस्यौदा तयार पारिसकेका छन्। जसमा पार्टी फुटाएर नयाँ दल खोल्न केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा एकचौथाइ अर्थात् २५ प्रतिशत सदस्य भए पुग्ने व्यवस्था गरिएको छ।
त्यो जारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले आज (मंगलबार) बिहानैदेखि पार्टीका नेताहरूसँग छलफल तीव्र पारेका छन्।
स्रोतका अनुसार यसैका लागि उनले आज अपराह्न मन्त्रिपरिषद्को बैठक बस्न सक्ने भन्दै मन्त्रीहरूलाई जानकारीसमेत पठाइसकेका छन्।
आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी र एमालेका नेपालसहितको शीर्ष नेताहरूको बैठकले यो मस्यौदा तयार पारेको हो। आइतबार नै एमाले नेता नेपालले सरकारमा सहभागी हुन सहमति जनाएका छन्।
सत्ताधारी गठबन्धन पहिलेदेखि नै नेता नेपाललाई सहज हुनेगरी अघि बढ्ने नीतिमा थियो। त्यसैले सरकार बनेको महिना दिन पुगिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।
यसअघि नेता नेपालले सकेसम्म संसद वा केन्द्रीय कमिटीमध्ये एउटामा ४० प्रतिशत पु¥याएर नयाँ पार्टी खोल्ने तयारी गरेका थिए।
तर दुवैतिर ४० प्रतिशत नपुग्ने भएपछि आफ्नो समूहमा आउन सक्ने नेताहरूको हिसाब गरेर केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एउटामा २५ प्रतिशत सदस्य भए दल विभाजन गर्न सकिनेगरी अध्यादेशको मस्यौदा तयार भएको हो।
२०७५ जेठ २ अघिको संरचनाअनुसार एमालेमा २०३ जना केन्द्रीय कमिटी सदस्य छन्। अब नेता नेपाललाई पार्टी फुटाउन यसको एकचौथाइ अर्थात् ५१ जना भए पुग्छ।