
पत्रकार डेकेन्द्रराज थापाको हत्यामा मुख्य आरोपितमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका अरुण भन्ने बमबहादुर खड्कालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
पत्रकार थापाको हत्यामा मुख्य आरोपित ४ जनामध्ये खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलबार अदालतमा उपस्थित गराएपछि न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले थुनामा राख्ने आदेश दिएको हो ।
हत्या आरोपित खड्कालाई कैलालीबाट पक्राउ गरी अड्डासार गर्दै दैलेख ल्याइएको थियो ।
जिल्ला अदालत दैलेखले २०७१ मङ्सिर २१ गते फरार भनिएका खड्कासहित चारलाई हाजिर भएका वा पक्रिएका बखत वा अवधि पुगेपछि जगाई कारवाही र किनारा गर्ने आदेश गरेसँगै फरार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
विसं २०६१ साउन २७ गते नौमूलेको द्वारीमा माओवादी कार्यकर्ताले मरणासन्न हुने गरी कुटेपछि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेको भनिएको थियो ।